काठमाडौं, २३ पुस। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूको एकीकरणप्रति असन्तुष्टि जनाउँदै आएका विद्यार्थीले बुधबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्। आफूहरुलाई अन्यायपूर्ण रुपमा एकता प्रक्रियाबाट बनेको केन्द्रीय कमिटीमा समावेश नगरिएको भन्दै पूर्वअनेरास्ववियू (क्रान्तिकारी)का पदाधिकारीले प्रचण्डलाई भेट गरेका हुन्।
भेटमा अध्यक्ष प्रचण्डले एकताप्रति गुनासो आइरहेकाले सम्बोधन गर्ने बताएको क्रान्तिकारीका सचिव डिवी साउदले जानकारी दिए। उनले अनेरास्ववियूका इञ्चार्ज हितमान शाक्य, सहइञ्चार्ज विनोद ढकाल, संयोजक ऐन महर र सहसंयोजक रञ्जीत तामाङसँग छलफल गरेर असन्तुष्टि विद्यार्थीको माग सम्बोधन गर्न आग्रह गर्ने बताए।
पूर्वसचिव साउदले विद्यार्थी राजनीतिमा क्रियाशील हुँदाहुँदै व्यक्तिगत रिसईवीका कारण आफूहरुलाई केन्द्रीय कमिटीमा नराखिएको बताए। उनले आफूलाई परेको अन्यायबारे महासचिव विष्णुप्रसाद पौडेल, विद्यार्थी इञ्चार्ज हितमान शाक्य, सहइञ्चार्ज विनोद ढकाललाई समेत जानकारी गराउने बताए ।
अनेरास्ववियूको केन्द्रीय कमिटीमा पूर्वअनेरास्ववियूबाट १८० र क्रान्तिकारीबाट १५५ गरी ३३५ जनाको बनाइएको छ। पूर्वसचिव साउदका अनुसार कमिटीमा पूर्वक्रान्तिकारीका १३ जना पदाधिकारीलाई राखिएको छैन। क्रान्तिकारीको महाधिवेशनबाट निर्वाचित भएका उपाध्यक्ष दीपक जोशी, उपमहासचिव तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, आशा तमु तथा सचिव डिवी साउद र नारायण खनाललाई एकतापछि बनेको केन्द्रीय कमिटीमा नसमेटिएपछि असन्तुष्ट भएका छन्।
एकतापछि बनेको अनेरास्ववियूको यही पुस १८ गते ३३५ सदस्यीय केन्द्रीय कमिटी, १११ केन्द्रीय सदस्यको सचिवालय, ४५ जनाको स्थायी कमिटी र २१ सदस्यीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगसमेत गठन गरी टुङ्ग्याइएको छ। अनेरास्ववियूको राष्ट्रिय भेला यही पुस २७ गते र केन्द्रीय कमिटी बैठक पुस २८ गते बोलाइएको छ ।