मोहन वैद्य ‘किरण’
बहुलवाद भनेको विश्वको उत्पत्तिको क्षेत्रमा बहुतत्त्वलाई प्राथमिकता दिने सिद्धान्त हो। विश्वको उत्पत्ति र विकास एउटै तत्त्वबाट होइन, बहुतत्त्वबाट भएको हो भन्ने सैद्धान्तिक मान्यतालाई बहुलवाद भनिन्छ। बहुलवादले सामाजिक जीवन र चिन्तनका विविध क्षेत्रमा बहुलताको पक्षपोषण गर्दछ।
बहुलवाद प्राचीन भारतीय दर्शन र साथै, प्राचीन युनानी दर्शनमा पनि पाइन्छ। भारतीय जैन दर्शनमा अनेकान्तवादको जुन सिद्धान्त छ त्यो बहुलवाद नै हो। प्रारम्भिक भौतिकवादमा पनि पृथ्वी, जल, तेज, हावा वा परमाणुहरू जस्ता विभिन्न भौतिक तत्त्वहरूबाट संसार बन्यो भन्ने सिद्धान्तमा बहुलवादका केही लक्षणहरू पाइन्छन्। त्यस्तै, प्रारम्भिक आदर्शवादमा बहु–ईश्वरको चर्चा गरिएको पाइन्छ। यो प्राचीनकालीन बहुलवादको कुरा भयो।
आधुनिक कालमा भने बहुलवादको जन्म सर्वप्रथम जर्मनीमा भएको पाइन्छ। सत्रौं शताब्दीको अन्त्य र १८औं शताब्दीको प्रारम्भतिरका जर्मन बुद्धिवादी दार्शनिक लाइबनित्जले संसार चेतनामय बहुतत्वबाट बनेको छ भनेका थिए। पछि आएर बहुलवादी दर्शनलाई विकसित गर्ने काम अमेरिकी व्यवहारवादी दार्शनिक विलिमय जेम्सले गरेका छन्। बीसौं शताब्दीका सुरुमा उनले यो विश्व एकरूप (Universe) हैन, बहुरूप (Multiverse) छ भने। पछिल्लो समयमा बहुलवादी दर्शन इङ्ल्याण्ड लगायत विश्वका विभिन्न देशमा फैलियो र यसलाई बहुदलीय राजनीतिक व्यवस्थाको दार्शनिक आधारका रूपमा स्थापित गर्ने काम भयो। युरो–कम्युनिज्मको धाराले संसदीय व्यवस्था र बहुलवादलाई स्वीकार गर्यो। अन्ततः बहुलवाद उत्तर–आधुनिकतावादी दर्शनको एक प्रमुख आधारशीला बन्न पुग्यो। हाम्रो नेपालमा पनि ठ्याक्कै त्यही युरो–कम्युनिज्म हुँदै एमालेले बहुलवादलाई अङ्गीकार गर्यो र उत्तर–आधुनिकतावादको प्रवेशसँगै यहाँ पनि बहुलवाद बहसको विषय बन्न गएको छ।
बहुलवादको दार्शनिक पक्ष
बहुलवादको दार्शनिक पक्षको कुरा गर्नुअघि हामीले दर्शनका तीन प्रमुख धाराबारे पनि चर्चा गर्नु आवश्यक छ, ती हुन्–अद्वैतवाद (Monism), द्वैतवाद (Dualism) र बहुलवाद (Pluralism)। अद्वैतवाद दुई प्रकारका छन्– आदर्शवादी अद्वैतवाद र द्वन्द्वात्मक भौतिकवादी अद्वैतवाद। हरेक दर्शनका विभिन्न पाटा वा क्षेत्र हुन्छन्, जस्तै– तत्वमीमांसा, ज्ञानमीमांसा, आचारमीमांसा आदि।
तत्वमीमांसाले यो संसारको सृष्टि गर्ने तत्त्व एउटै छ कि धेरै भन्ने प्रश्नको उत्तर खोज्दछ। संसारको सृष्टि गर्ने तत्त्व एउटै छ भनेर मान्ने दर्शन सामान्यत अद्वैतवाद हो। तर, त्यो एउटै तत्त्व के हो भन्नेमा यसमा पनि दुई मत छन्। त्यो तत्त्व परमचेतना, परमेश्वर वा चेतना हो भनेर मानियो भने त्यो आदर्शवादी अद्वैतवाद भयो। त्यो तत्व एउटै छ तर त्यो परमेश्वर वा चेतना होइन, भौतिक तत्त्व हो भनेर मानियो भने त्यो भौतिकवादी वा द्वन्द्वात्मक भौतिकवादी अद्वैतवाद हो। यी दुवै अद्वैतवाद अर्थात् मोनिज्म (Monism) भित्र पर्छन्। परन्तु, फरक के छ भने एउटाले एउटै तत्त्व अलौकिक शक्तिलाई मान्दछ, अर्कोले भौतिक शक्तिलाई मान्दछ। यो धेरै ठूलो भिन्नता हो। यसैगरी द्वैतवादले पदार्थ र चेतना दुवैलाई समानान्तर रूपमा प्राथमिक तत्त्व मान्दछ। बहुलवाद त्यो हो जसले बहुतत्त्वलाई प्राथमिक दर्जामा राख्दछ।
तत्त्वदर्शनकै क्षेत्रमा बहुलवादीहरू भने विभिन्न किसिमका तत्त्वहरूले यो संसारको सृष्टि भयो भन्ने विश्वास गर्दछन्। यस सन्दर्भमा कसैले बहुदेवता, बहुचेतना, कसैले परमाणु बहुलता र कसैले पृथ्वी, जल, तेज, वायु, आकाश आदि बहुतत्त्वलाई प्राथमिक स्थानमा राख्ने गर्दछन्। तत्त्वदर्शनका क्षेत्रमा बहुलवादीहरू भौतिकवादी, आदर्शवादी र तटस्थतावादी तीनै प्रकारका रहेका छन्।
तत्त्वमीमांसाको क्षेत्रमा देखापर्ने विवादलाई दर्शनशास्त्रको मौलिक प्रश्नको सैद्धान्तिक मान्यताका आधारमा विवेचना गर्न उपयुक्त हुन्छ। यो संसारको उत्पत्ति र विकासका लागि प्राथमिक तत्त्व चेतना वा पदार्थ मध्ये कुन हो ? यो प्रश्नको जवाफमा आदर्शवादले चेतना र भौतिकवादले पदार्थलाई प्रस्तुत गर्दछन्। यहाँनेर बहुलवादले उम्कने ठाउँ नै पाउँदैन। यो स्थितिमा बहुलवादीहरू तटस्थतावादी बन्दछन् र अन्ततः ती आदर्शवादको भासमा फँस्न पुग्दछन्। बहुलवादीहरू एकातिर आदर्शवादी तथा भौतिकवादी दुवै प्रकारको अद्वैतवादको विरोध गर्दै संसारमा बहुलता व्याप्त छ भन्दछन् भने अर्कोतिर त्यसप्रकारको बहुलतालाई एकरूपतामा जोड्नका लागि ईश्वरको पनि खोजी गर्दछन्। यो बहुलवादीहरूमा विद्यमान आफ्नो तर्कलाई आफै खण्डन गर्ने वितण्डावादी चिन्तन हो।
ज्ञानमीमांसाको क्षेत्रमा पनि बहुलवादीहरूले सत्यको बहुलता स्वीकार्छन्। आदर्शवादीहरूले सत्य सदाका लागि निरपेक्ष, अपरिवर्तनीय र एउटै हुन्छ भन्छन्। द्वन्द्वात्मक भौतिकवादीहरू एकातिर सत्यलाई मूर्त तथा समग्र रूपमा ग्रहण गर्दछन् भने अर्कोतिर सापेक्ष एवम् निरपेक्ष हुने कुरा मान्दछन्। तर, बहुलवादीहरूका दृष्टिमा सत्य पनि बहुल नै हुन्छ। उनीहरू सत्यलाई उपयोगितावादी कोणबाट हेर्दछन्। त्यस अनुसार सत्य हरेक व्यक्तिका हित र सफलतासँग जोडिएका बहुविध प्रकारका हुने गर्दछन्। उनीहरू सामाजिक व्यवहारलाई सत्यको कसौटी मान्दैनन्।
आचारमीमांसाको क्षेत्रमा बहुलवाद भनेको चरम व्यक्तिवाद र उपभोक्तावाद हो। यसले के कुरा मान्दछ भने हरेक समाजमा मानिस प्रकृति जगतका परमाणु जस्तै हुन्, यी एकदम स्वतन्त्र हुन्छन् र यी एकअर्काबाट पृथक हुन्छन्। व्यक्तिका स्वार्थलाई नै सबैभन्दा माथि राख्ने व्यक्तिवाद नै आचारका क्षेत्रमा बहुलवाद हो। यसले समाजलाई निषेध गर्दै निजी हित, अभिरुचि र आचरणमा आधारित बहुमूल्य प्रणालीको पक्षपोषण गर्दछ। समाजको हितलाई प्राथमिकतामा राख्ने सिद्धान्त समाजवाद हो।
राजनीतिको क्षेत्रमा आदर्शवाद वा एकमनावादले एकदमै तानाशाही र एकाधिकारवादी शासन सत्ताको सिद्धान्त मान्दछ। त्यो भनेको सामन्तवादी निरंकुश राजतन्त्र, सैनिक अधिनायकतन्त्र वा फासीवाद हो। बहुलवादले पु“जीपति वर्गका हक, हित, स्वार्थ र स्वतन्त्रतालाई अत्यन्तै निरपेक्ष रूपमा प्रस्तुत गर्दछ। बहुलवादको राजनीतिक आदर्श संसदीय बहुदलीय व्यवस्था हो। परन्तु यसको विपरीत द्वन्द्वात्मक भौतिकवादीहरू वा मार्क्सवादीहरूको राजनीतिक आदर्श भनेको वैज्ञानिक समाजवाद हो। यसले व्यक्ति होइन समाजलाई सर्वोपरि मान्दछ र व्यक्तिका हितलाई समाजको हितको मातहतमा राख्दछ। तर, बहुलवादीहरू समाजको हितलाई प्राथमिकतामा राख्न चाहँदैनन्। उनीहरू व्यक्तिका हित र स्वार्थलाई नै प्राथमिकतामा राख्छन्। यसरी राजनीतिक दर्शनको क्षेत्रमा पनि तीनै थरी दर्शनका आ–आफ्नै आदर्श शासनप्रणाली ऐतिहासिक रूपमा विकसित भएका छन्।
बहुलवादलाई हामीले रूप र सारमा हेर्न सक्छौँ। पुँजीवादले साम्राज्यवादमा फड्को हानेपछि हिजोको समयमा प्रगतिशील भूमिका खेलेको पुँजीवाद त्यही रूपमा रहेन। साम्राज्यवाद भनेको एकाधिकारवादी पुँजीवाद हो, जसको चरम राजनीतिक रूप भनेको फासीवाद हो। फासीवादमा पतन भएपछि त्यो आफैले पुर्पक्ष गर्दै आएको बहुलवादलाई छाडेर एकमनावादमा पुग्दछ। साथै, साम्राज्यवादको अर्को विशेषता के पनि हो भने त्यसले शब्दमा उदारता, प्रजातन्त्र वा बहुलवादको पुर्पक्ष गर्दछ। तर कर्ममा चाहिँ चरम तानाशाहीको अभ्यासमा लाग्दछ। बहुलवादीहरूले रूपमा स्वतन्त्रताको कुरा गरे पनि सारमा पूरै तानाशाही लाद्ने काम गर्छन्। आफ्नो वर्गका लागि बहुलता र स्वतन्त्रता तर अर्को वर्गका लागि तानाशाही उनीहरूको चरित्र हुन्छ।
दर्शनलाई पद्धति र विधिका हिसाबले पनि हेर्न जरुरी हुन्छ। आदर्शवाद, बहुलवाद र द्वन्द्वात्मक भौतिकवादका आ–आफ्ना विधि वा पद्धति हुन्छन्। आदर्शवादीहरूको एउटा ठूलो हिस्सा एकमनावादी वा अधिभूतवादी रहेको छ। उनीहरूले विपरीत तत्वहरूलाई स्वीकार्दैनन्। विपरीत तत्वहरूका बीचमा सङ्घर्ष हुन्छ भन्ने यथार्थलाई पनि उनीहरूले अस्वीकार गर्छन्। उनीहरू जहा“सुकै एकतै एकता हुन्छ, विरोधै हुँदैन भन्छन्। दार्शनिक क्षेत्रमा विपरीत तत्वहरूको अस्तित्व अस्वीकार गर्नेहरूलाई एकमनावादी भन्ने गरिन्छ। बहुलवादले चाहिँ विपरीतहरूलाई त स्वीकार गर्छ परन्तु एकतालाई स्वीकार गर्दैन। बहुलवादीहरूका दृष्टिमा संसार बहुलै बहुल तथा विविधतै विविधतामा आधारित हुन्छ। द्वन्द्वात्मक भौतिकवादीहरू चाहिँ विपरीतहरूको एकत्वको मान्यतालाई स्वीकार गर्दछन्। तदनुसार विपरीतहरूको एकत्व भनेको एकता–सङ्घर्ष र रूपान्तरण अर्थात् नयाँ आधारमा नयाँ एकता हो। यसरी पद्धतिको क्षेत्रमा तीनैथरी दर्शनका तीन प्रकारका मान्यता देखा पर्दछन्।
बहुलवादको दार्शनिक मान्यता मूलतः मानसिक वा भौतिक अणु, परमाणु र कणहरूको बहुलतामा आधारित रहिआएको छ। उनीहरूको दृष्टिमा प्रत्येक अणु, परमाणु वा कणहरू निरपेक्ष रूपमा स्वतन्त्र छन् र तिनैबाट संसार बनेको छ। उनीहरूको भनाइमा ती परमाणुहरूका बीच आङ्गिक एकता छैन। उनीहरूको यो सोच केवल विश्लेषणमा आधारित छ संश्लेषणमा होइन। द्वन्द्वात्मक भौतिकवादले यो साेचलाई पूरै परास्त गरेको छ। दर्शनको वैज्ञानिक विधि विश्लेषण मात्र होइन, विश्लेषण र संश्लेषणको द्वन्द्वात्मक एकत्वमा आधारित रहेको छ। बहुलवादले केवल विश्लेषण मात्रलाई पकड्ने र संश्लेषणलाई परित्याग गर्ने गर्दछ। यो अवैज्ञानिक तथा अधिभूतवादी चिन्तन हो। द्वन्द्वात्मक भौतिकवादको विपरीतहरूको एकत्वको नियम विश्वको सार्वभौम नियम हो। यो विश्व देश र कालमा अवस्थित गतिशील पदार्थहरूको समग्रतामा आधारित छ। गतिशील पदार्थहरूका बीच एकता र सङ्घर्ष दुवै हुन्छ। लेनिनको भनाइअनुसार देश र कालमा अवस्थित पदार्थमा विद्यमान गति भनेको अविच्छिन्नता (Continuity) र विच्छिन्नता (Discontinuity) को एकता हो। गति भनेको अन्तर्विरोध हो र अन्तर्विरोधको एकता हो। यसरी हेर्दा अणु, परमाणु वा कणहरू गतिशील पदार्थका विविध रूप हुन् र ती परस्पर अन्योन्याश्रित रहेका हुन्छन्।
विज्ञानले बहुलवाद होइन, द्वन्द्वात्मक भौतिकवादलाई साथ दिँदै आएको छ। यद्यपि कतिपय अवस्थामा बहुलवादीहरूले विज्ञानलाई पनि आफ्नो पक्षमा उपयोग गर्ने कोशिस गर्दछन्। परन्तु त्यो सदाका लागि सम्भव हुँदैन। भौतिक विज्ञानको क्षेत्रमा जब क्वान्टम सिद्धान्तको जन्म भयो र त्यसले प्रारम्भमा सबै चीज टुक्राटुक्रा अर्थात् विभिन्न कणहरूमा विभाजित हुने कुरा बतायो, त्यो बेला बहुलवादीहरू अत्यन्तै खुसी भए। यसैगरी जब विज्ञानमा अनिश्चितताको सिद्धान्त विकसित भयो त्यो बेला उनीहरूले अनिबार्यताको विरोधमा आकस्मिकताको पक्षपोषण गर्न थाले। परन्तु जब क्वान्टम यान्त्रिकीको थप विकास भयो त्यो बेला के कुरा स्पष्ट भयो भने सुक्ष्म वस्तुहरू केवल कणहरू मात्रै होइन, कण र तरङ्गको द्वन्द्वात्मक सम्बन्धमा आधारित हुन्छन्। क्वान्टम यान्त्रिकीमा कण र तरङ्गको द्वन्द्वात्मक एकरूपताको अध्ययन गरिन्छ। त्यसले बहुलवाद होइन, भौतिकवादी द्वन्द्ववादको पुष्टि गर्दछ। वैज्ञानिक आइन्स्टाइनले एकीकृत क्षेत्रको सिद्धान्त (Unified Field Theory) प्रतिपादन गरे। यो सिद्धान्तमा उनले बहुलता हैन एकरूपताको मान्यता प्रस्तुत गरेका छन्। सारा ब्रह्माण्डमा तारा, ग्रह, नक्षत्रसहित जुन अनेकौं पिण्डहरू छन् ती आकर्षण र विकर्षणको द्वन्द्वात्मक मान्यता अनुरूप परस्पर अन्योन्याश्रित रहेका हुन्छन्। आखिर संसारको विविधतालाई आपसमा एकरूपताले जोड्नैपर्छ। त्यसरी जोडिएन भने सारा दुनियाँ तथा ब्रह्माण्डमा भद्रगोल पैदा हुन्छ। के यो संसारमा भद्रगोल वा अराजकता मात्रै छ त ? के विश्वमा कुनै नियमसङ्गति छैन ? संसारमा हरेक वस्तु विच्छिन्न र अविछिन्न दुवै छन्। यो विश्व एकैसाथ विच्छिन्न प्रवाहमय अर्थात् कण–तरंमय छ। त्यो भनेको आकर्षण र विकर्षणको द्वन्द्वात्मक एकत्वको मान्यता हो। यसैगरी रसायनशास्त्रमा परमाणुहरूका बीचमा वियोजन र संयोजनको अध्ययन गरिन्छ। यो अध्ययनले पनि बहुलवादको खण्डन र द्वन्द्वात्मक भौतिकवादको पुष्टि गर्दछ।
संविधानमा बहुलवाद किन नराख्ने ?
अहिले हामी संविधानसभामार्फत् नयाँ संविधान निर्माणको क्रममा छौं। यतिबेला संविधानमै ‘बहुलवाद’ शब्द राख्ने कि नराख्ने भन्ने छलफल पनि चलिरहेको छ। हाम्रो पार्टी एकीकृत नेकपा (माओवादी) ले संविधानमा ‘बहुलवाद’ राख्न नमानेका कारण यो पार्टी बहुदलीय व्यवस्था, स्वतन्त्रता, लोकतन्त्र आदिका पक्षमा नै छैन भन्ने हिसाबले गलत प्रचार पनि गरिएको छ। यसबारे स्पष्ट हुन जरूरी छ।
अहिले हामी जुन संविधान बनाउन गइरहेका छौं, त्यो यथास्थितिवादी वा संसदवादी संविधान होइन। अहिले हामीले बनाउन चाहेको संविधान जनताको सङ्घीय गणतन्त्रमा आधारित एउटा अग्रगामी एवम् प्रगतिशील संविधान हो। यस्तो संविधानमा सारमा वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक तथा जातव्यवस्थामा आधारित सबै समस्याको समाधान गरिन्छ। यहाँ यसप्रकारका सबै तह, तप्का तथा समुदायका जनताका आस्था र दृष्टिकोणलाई समेटिने काम हुन्छ। यो संविधान कुनै अतीतमुखी शक्ति र त्यसको दर्शनप्रति प्रतिबद्ध रहन सक्तैन। यो सबै सामन्तवाद–साम्राज्यवाद विरोधी शक्तिहरूको साझा अभिलेख हुनु पर्दछ। त्यसमा कुनै एक पक्ष तथा वर्गको दर्शनलाई राख्ने र अर्को पक्षको दर्शनलाई निषेध गर्नु ठीक हुँदैन। अहिले हामीकहाँ दुईथरी मान्यता र दर्शन मान्ने पक्ष छन् – एउटा बहुदलीय संसदीय व्यवस्था मान्नेहरू छन् जसले आफ्नो आस्था तथा आदर्श बमोजिम संविधानमै बहुलवाद राख्न चाहन्छन् र दोस्रो द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद मान्नेहरू छन् जसले संविधानमा बहुलवादलाई राख्न चाहँदैनन्।
बहुलवाद एउटा दर्शन हो भन्ने माथि नै चर्चा गरिसकियो। अहिले हामीले के भनेका छौं भने संविधानमा कसैका दर्शनलाई नराखौं। हामी बहुलवाद मान्दैनौं, हाम्रो दर्शन द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद हो। प्रश्न उठ्न सक्छ– संविधानमा द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई पनि किन नराख्ने त ? परन्तु अरु दलले जस्तो हामीले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई संविधानमै राख्नुपर्छ भनेर दाबी गरेका छैनौं। हाम्रो भनाइ चाहिँ संविधानमा कसैको पनि धर्म, दर्शन वा आस्थालाई नराखौं, सम्बन्धित सबैका साझा कुरा मात्रै राखौं भन्ने हो। आस्थामा सम्बन्धित सबैलाई स्वतन्त्रता दिनुपर्छ। संविधानको तर्क पनि वैचारिक आस्थामा सम्बन्धित सबैलाई व्यक्तिगत स्वतन्त्रता हुनेछ भन्ने नै हो। यसो भनेको अरुको वैचारिक आस्थामा हस्तक्षेप पनि नपुर्याउने भनेको हो। बहुलवाद मान्नुपर्छ भनेर संविधानमा राख्दा बहुलवाद नमान्नेको स्वतन्त्रतामा हस्तक्षेप हुन्छ। हामीले संविधानमा ‘बहुलवाद’ राख्न नमान्नुको प्रमुख कारण यही हो। साथै, बहुलवाद कुनै नयाँ र विज्ञानसम्मत दर्शन पनि होइन।
अर्कोतिर, बहुलवाद नमानेकै कारण माओवादीहरू बहुदलीय व्यवस्था पनि मान्दैनन् भन्ने आरोप पनि लगाइने गरेको छ। तर, हामी बहुदलीय व्यवस्था मान्दछौं। बहुदलीय व्यवस्था मान्नुको अर्थ बहुलवादलाई नै मान्नुपर्छ भन्ने हुँदैन। हामीहरूको बीचमा फरक–फरक दार्शनिक मान्यता छन्। नेपाली कांग्रेस तथा एमालेहरू बहुलवादी दर्शनमा आधारित बहुदलीयता मान्छन्, हामीहरू द्वन्द्वात्मक भौतिकवादी दर्शनद्वारा आलोकित बहुदलीय व्यवस्था मान्छौं। तसर्थ, हामीले जनताको साझा संविधान बनाऔं भनेका हौं। उनीहरू संसदीय व्यवस्था मान्नुपर्छ भन्छन्, हामी संसदीय व्यवस्था मान्दैनौं। संसदीय बहुदलीय व्यवस्था सबैले मान्ने हो भने मात्रै बहुलवाद संविधानमा राख्नु ठीक हुन्छ। अहिले संविधानसभामा बहुलवादी र द्वन्द्वात्मक भौतिकवादी दुवैथरिको उपस्थिति भएकाले हामीले जनताको साझा संविधान बनाएर जानु नै उपयुक्त हुन्छ भनेका हौं। यदि संविधानमा ‘बहुलवाद’ राखिने नै हो भने त्यो हामीले मान्दैनौं। हामी ‘द्वन्द्वात्मक भौतिकवाद’ राख्न दबाब दिने पक्षमा पनि छैनौं र दबाबमा ‘बहुलवाद’ स्वीकार्ने पक्षमा पनि छैनौं।
बहुलवादकै सन्दर्भमा नेपाली राजनीतिमा अर्को एउटा भ्रम पनि छ। त्यो भ्रम भनेको नेकपा एमाले कम्युनिस्ट भएरै पनि बहुलवादको पक्षमा छ। तर माओवादीले मात्रै किन विरोध गरेको भन्ने भ्रम हो। यहाँनेर सबैले बुझ्नुपर्ने स्पष्ट कुरा के हो भने एमाले कम्युनिस्ट पार्टी नै होइन। मैले माथि युरो–कम्युनिज्मका बारेमा कुरा गरेको थिएँ। युरो–कम्युनिज्मले संसदीय व्यवस्थालाई मानेको छ। त्यसले बहुलवाद र बहुदलीय व्यवस्थालाई स्वीकारेको छ। एमाले त्यही युरो–कम्युनिज्मको नेपाली सन्तान मात्रै हो, द्वन्द्वात्मक भौतिकवादलाई मान्ने कम्युनिस्ट पार्टी होइन। क्रान्तिकारी कम्युनिस्ट पार्टीको मार्गदर्शक सिद्धान्त बहुलवाद हो भन्ने अहिलेसम्म कहींकतै पनि देखिदैंन। मैले त माधवजी (माधव नेपाल) सँग पनि कुरा गरें, बहुलवाद के हो भन्नेबारे व्यावहारिक रूपमा बहस गरौं पनि भनें। एकैसाथ द्वन्द्वात्मक भौतिकवाद र बहुलवाद दुवै मान्ने दुनियाँमा कहीं हुन्छ ? यी मिल्दै नमिल्ने फरक दर्शन हुन्, आकाश र पातलको फरक छ यिनमा। यसर्थ, आफूलाई कम्युनिस्ट पार्टीको दाबी गरे पनि सिद्धान्ततः एमाले कम्युनिस्ट पार्टी नै हाेइन। बहुलवाद मानेकै कारणले पनि यसै कुराको पुष्टि हुन्छ।
बहुदलीय व्यवस्था मान्नुपर्छ भन्नुको अर्थ बहुलवाद र संसदवाद दुवैलाई मान्नु पर्छ भनेको होइन। यदि कुरा त्यही नै हो भने त्यो एकैसाथ यथास्थितिवादी र रुढीवादी चिन्तन हो। यो चिन्तनले लोकतन्त्रलाई सदाका लागि स्थिर मान्दछ। त्यसले लोकतन्त्रमा कुनै पनि परिवर्तन र सृजनात्मक विकासको सम्भावना नै देख्तैन। हामीले नेपालमा लोकतन्त्रलाई नयाँ ढंगले विकसित तुल्याउन चाहेका छौं। लोकतन्त्रको अभ्यास गर्ने प्रक्रियामा रुस, पूर्वी युरोप लगायतका पूर्व समाजवादी मुलुकमा पनि केही कमजोरी भए र विश्वका पुँजीवादी मुलुकहरूमा पनि संसदीय व्यवस्था असफल बन्न पुग्यो। त्यो स्थितिमा हामी यी दुवै प्रकारका कमजोरीलाई हटाउँदै एक्काइसौं शताब्दीमा जनवाद वा लोकतन्त्रको सिर्जनात्मक तथा मौलिक रूपमा विकास गर्न चाहन्छौं। ठीक त्यसैले हामी सृजनशीलता र मौलिकताको पक्षमा र सबैखाले यथास्थितिवाद तथा रुढीवादको विरोधमा छौं।
संविधानमा ‘बहुलवाद’ नराख्दा कतिले के तर्क पनि गर्छन् भने माओवादीले भन्ने गरेको द्वन्द्वात्मक भौतिकवादी अद्वैतवाद सर्वसत्तावाद अर्थात् सर्वहारा अधिनायकतन्त्रको पक्षमा रहेको छ। हो, लोकतन्त्रको चरित्र वर्गीय हुन्छ, राज्यसत्ताको चरित्र वर्गीय हुन्छ। यस अर्थमा माओवादीले राज्यसत्तालाई वर्गीय अधिनायकत्वका रूपमा ग्रहण गर्दछ। साथै, ठीक त्यसै कारण कुरा के सत्य हो भने अमूर्त लोकतन्त्र, सबैका लागि लोकतन्त्र, संसदीय लोकतन्त्र वा बहुदलवादी लोकतन्त्र पनि आफ्नो सारतत्वमा पुँजीवादी अधिनायकत्व नै हुन्छ। सर्वसत्तावादी कम्युनिस्टहरू होइनन् बहुलवादका नाममा एकाधिकार पुँजीवादी सैन्यवादको अभ्यास गर्ने साम्राज्यवादी तथा तिनका पक्षधर नै हुन्।
विविधतामा एकरूपता
नयाँ संविधान निर्माणकै क्रममा हामीले हाम्रो मौलिक पहिचानसहितको नयाँ संस्कृतिको आधार खोज्नुपर्छ। नेपाललाई हामीले बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक मुलुक भन्ने गरेका छौं। यही ‘बहु’ शब्द र पदावलीको प्रयोगलाई आधार मानेर एकथरीले नेपालमा बहुलवादी संस्कृति छ भन्छन्। यो गलत कुरा हो। नेपाली समाज र संस्कृतिमा विविधता छ, त्यो सत्य हो। तर विविधता मात्रै छैन, त्यसलाई जोड्ने एकरूपता पनि छ। एकातिर विविधताको पाटो, अर्कोतिर एकरूपताको पाटो। अहिलेसम्म नेपालमा विविधताको पाटोलाई गौण रूपमा राखेर एकमनावादी एकरूपतालाई बढी स्थान र महत्त्व दिइयो। खास अर्थमा त्यो सही एकरूपता पनि थिएन। जस्तो, पृथ्वीनारायण शाहको केन्द्रीकरणको प्रक्रियादेखि यता संस्कृतिको क्षेत्रमा एकमनावाद लागू गरियो। सांस्कृतिक एकरूपताका नाममा एक खस भाषा, एक हिन्दु धर्म र एक खस आर्य जातिलाई प्राथमिकतामा राखियो। नेपाली समाजमा भएका अरु विभिन्न किसिमका विविधतालाई यसले समेट्न सकेन।
हामीले एकमनावादमा आधारित एकात्मकताको विरोध र सङ्घात्मकताको पक्षमा लामो समयदेखि सङ्घर्ष गर्दै आएका छौं। हामी नयाँ ढङ्गले राज्यको पुनःसंरचना गर्ने पक्षमा छौं। यसप्रकारको पुनःसंरचना भाषिक, जातीय, क्षेत्रीय तथा सांस्कृतिक विविधतामा आधारित रहेको हुन्छ। यसरी विविधतालाई स्वीकार गर्नु भनेको बहुलवादीहरूले भनेजस्तो सबै विविधता एकअर्कासँग एकदमै पृथक हुन्छन् भन्ने होइन। त्यो विविधतालाई हामीले एकरूपताले जोड्नुपर्छ। मार्क्सवादीहरूले भन्ने गरेको विपरीतहरूको एकत्वको सिद्धान्त यही हो। कसैकसैले हामीलाई नै विखण्डनवादी भन्छन्। हामी विखण्डनवादी होइनौं, हामी विविधतामा एकरूपता खोज्नेहरू हौं। वास्तविक अर्थमा विखण्डनवादी त बहुलवादी नै हुन्।
नेपाली संस्कृतिमा भएका विविधतालाई एकरूपतामा आबद्ध गर्ने केही तत्व वा सुत्रहरू छन्। ती मध्ये पहिलो सूत्र हो जनवाद। जब सबै वर्ग, समुदाय, जाति, क्षेत्र र लिङ्गका जनताले जनवादको उच्च अभ्यास गर्न पाउँछन्, त्यो बेला ती उत्पीडनबाट मुक्त हुन्छन् र एकअर्कासँग सुमधुर प्रकारको सम्बन्ध कायम गर्न पुग्दछन्। हामीलाई एकरूपतामा आबद्ध गर्ने दोस्रो तत्व राष्ट्रियता हो। राष्ट्रियता यस्तो चीज हो जसले सबैलाई एउटै सूत्रमा आबद्ध गर्दछ। राष्ट्रियताका पनि दुई रूप छन्– आन्तरिक राष्ट्रियता र बाह्य राष्ट्रियता। आन्तरिक राष्ट्रियतालाई मजबुत पारेर सामन्तवादको विरोध र बाह्य राष्ट्रियतालाई बलियो बनाएर साम्राज्यवाद/विस्तारवादको प्रतिरोध गर्नुपर्छ। यी दुवैको विरोध गरेर नै सच्चा राष्ट्रियता स्थापित हुन्छ। यसैगरी विविधतामा एकरूपताको अर्को सूत्र हो– वैज्ञानिक चिन्तन। सांस्कृतिक एकरूपताका लागि हामीमा वैज्ञानिक चिन्तन हुनुपर्छ। यसका निम्ति हामीले आफूमा विद्यमान रुढीवादी, अन्धविश्वास, भाग्यवाद, कर्मवाद लगायतका सोचभन्दा भिन्न वैज्ञानिक चिन्तन अँगाल्न जरुरी छ। त्यसो भयो भने नै हामी एकअर्काको कदर गरेर जान सक्तछौं। नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने नयाँ संस्कृति भनेको जनवाद, राष्ट्रियता र वैज्ञानिक चिन्तनमा आधारित संस्कृति नै हो। यही नै विविधतामा एकरूपता हो।
सांस्कृतिक क्षेत्रमा बहुविधतामा एकरूपता कायम गर्ने काम आदर्शवादी अद्वैतवाद र बहुलवादबाट होइन, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी अद्वैतवादको आलोकबाट मात्र हुन सक्तछ। यो कुरालाई गम्भीरतापूर्वक हृदयङ्गम गर्न जरुरी छ।