पोखरा। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाललाई नोक्सानी हुने गरी एमसिसी सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन्। बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले बाहिर होहल्ला भएजस्तो अन्तर्राष्ट्रिय सैन्य गठबन्धन स्वीकार्य नभएको बताए।
‘इन्टरनेसनल मेलिटरी एलाइन्समा सहभागी हुने भनेर जसरी बाहिर आएको छ, त्यो हेरौं न के रहेछ,’ उनले भने, ‘एलाइन्समा हामी सहभागी हुँदैनौं, हाम्रो स्ट्यान्ड पोइन्ट त्यही नै हो। यो सरकारले गरेको निर्णय र संसद्मा पहिलै छलफल भएको विषय हो।’ उनले एमसिसी पहिलेकै सरकारले माग गरेबमोजिम आएको भन्दै नेपालको अनुकूलताअनुसार निर्णय हुने बताए।
पोखरेलले सीमा रक्षाका लागि सरकारले औपचारिक द्विपक्षीय छलफलबाटै विवाद टुङ्गो लगाउने बताए। ‘भारतबाट निरन्तर सीमा सार्ने काम भएको छ। त्यसबारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले थपे, ‘ऐतिहासिक तथ्य, प्रमाण र अभिलेखका आधारमा हाम्रो सीमा जहाँ हो त्यो कायम गर्छौं।’
अहिलेसम्मका सरकारले साघुँर्याइएको सीमाबारे कुनै दाबी र औपचारिक छलफलसमेत नभएको उनको आरोप छ। ‘सीमा अतिक्रमण अहिले पनि जारी छ, हामी चुप बस्दैनौं,’ उनले भने। मन्त्री पोखरेलले नेपाल ट्रस्टको सम्पत्ति कानुनअनुसार नेपाली जनताको अधिकतम हितमा उपयोग गरिने बताए।
स्थानीय र प्रदेश सरकारसँगको परामर्शबाटै यी सम्पत्तिको भोगचलन गर्ने उनको भनाइ छ। उनले सभामुख छनोट २७ गतेको संसद् बैठकबाट टुङ्गिने बताएका छन्।