काठमाडौं। उर्जा मन्त्री वर्षमान पुन आज युएई प्रस्थान गरेका छन्। नविकरणीय उर्जा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मन्त्री पुन पाँच सदस्यीय टोलीसहित युएई तर्फ गएका हुन्। सम्मेलन शुक्रबारदेखि सुरु हुँदैछ।
विश्वका १२० देशका प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको सम्मेलन चार दिनसम्म चल्ने छ। सम्मेलनमा नविकरणीय उर्जा र त्यसको सम्भाव्यता तथा लगानीका सम्बन्धमा छलफल हुनेछ। मन्त्री पुनले आउँदो शनिबार र आइतबार सम्मेलनका दुई शत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
यस्तै युएई बसाईको क्रममा मन्त्री पुनले युएई र भुटानका समकक्षीसँग भेट गर्ने जनाइएको छ। भेटमा उर्जा व्यापार तथा जलस्रोत सम्बन्धी विषयमा छलफल हुनेछ।
भ्रमण टोलीमा वैकल्पिक उर्जाका कार्यकार निर्देशक डा. मधुसुधन अधिकारी, उर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवाल, स्वकीय सचिव दुर्गाप्रसाद चापागाईँसहित पाँचजना छन्। मन्त्री पुन पुस २८ गते स्वदेश फर्किने छन्।