काठमाडौं, २५ पुस। भारतले रिफाइण्ड पाम आयल आयातमा प्रतिबन्ध लगाएको छ। प्रतिबन्ध लगाएपछि त्यसका असरका बारेमा नेपाल सरकारले अध्ययन सुरू गरेको छ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयले यसबारेमा सरोकारवालासँग छलफल अघि बढाएको छ। पछिल्लो समय नेपालको सबभन्दा धेरै निर्यात हुने वस्तुको निर्यात नै ठप्प हुने अवस्था आएपछि त्यसका विभिन्न प्रभावका बारेमा मन्त्रालयले छलफल सुरू गरेको हो।
पहिलो चरणमा मन्त्रालयका सचिवले बिहीबार उद्योगी तथा सरोकारवालासँग छलफल गरेका छन्। सचिव बैकुण्ठ अर्यालले सबैको धारणा र बुझाइमा एकरूपता ल्याउन प्रारम्भिक चरणको छलफल गरिएको जानकारी दिए।
भारतले प्रशोधित पाम आयलको आयात गर्न लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको छ।
यसको कानूनी र व्यवहरिक पाटोमा समेत अस्पष्ट भएको अवस्थामा स्पष्ट हुनका लागि मन्त्रालयले छलफल अघि बढाएको छ। नेपालको सबभन्दा धेरै निर्यात हुने वस्तुको आयातमा भारतले प्रतिबन्ध लगाएपछि यसबारेमा कूटनीतिक पहल अघि बढाउने सरकारको तयारी रहेको छ। यसका लागि नेपाली पाम आयल उत्पादनको अवस्था तथा उद्योगमा लगानी, रोजगारी जस्ता कुरामा वास्तविक तथ्यांक लिन आवश्यक हुन्छ।