धनुषा, २५ पुस। अवैध उत्खननको विरोध गर्दै आएका जनकपुरका युवा दिलीपकुमार महतोलाई किचेर मार्ने टिपरका चालक पक्राउ परेका छन्। मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीपको शुक्रबार बिहान साथीसँग मर्निङ वाक गएका बेला टिपरले ठक्कर दिँदा मृत्यु भएको थियो ।
दिलीपको मृत्यु दुर्घटना नभइ हत्या भएको भन्दै परिवारका सदस्य र स्थानीयले विरोध गरेका थिए। दिलीपको पहिला हत्या गरी त्यसपछि उनको शरीरमा टिपर चढाइएको आफन्त र स्थानीयले आरोप लगाउँदै आएका छन्। दिलीपलाई किचेर मारे लगत्तै फरार रहँदै आएका ना ७ ख ६४१३ नम्बरको टिपरका चालक मुनिन्द्र महतोलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको हो।
उनलाई ढल्केबर नजिकबाट पक्राउ गरी अनुसन्धान प्रकृया अगाडि बढाएको धनुषाका प्रमूख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए। घटनालगत्तै इलाका प्रहरी कार्यालय, ढल्केवरले टिपरलाई नियन्त्रणमा लिए पनि चालक फरार थिए।