काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी) को नेतृत्वमा सञ्चालन भएको जनयुद्ध दार्शनिक, वैचारिक र राजनीतिक आन्दोलन भएको बताएका छन्।
शनिबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई बोल्दै प्रचण्डले जनयुद्ध दार्शनिक, वैचारिक र राजनीतिक आन्दोलन भएको बताए। उनले भने, ‘महान् जनयुद्ध कुनै आतंकवादी गतिविधि थिएन। हामीले निश्चित दर्शन, विचार र आदर्शलाई स्थापित गर्ने सङ्कल्पसहित जनयुद्ध गरेका थियौं। त्यो महान् दार्शनिक, वैचारिक र राजनीतिक आन्दोलन थियो। कमरेड मोहन कार्कीहरुले अग्रमोर्चामा बसेर त्यो कुरा स्थापित गर्नुभएको थियो।’
प्रचण्डले विप्लव लगायतका सबै पार्टीका नेता–कार्यकर्ता ढिलो चाँडो नेकपामै आउने विश्वास व्यक्त गरे। उनले भने, ‘शान्ति प्रक्रियायता केही साथीहरु यसरी हुँदैन भनेर अलग हुनुभएको छ। तर, उहाँहरुको अवस्था हेर्दा त्यहाँ धेरै टिक्ने अवस्था देखिँदैन। छुट्टाछुट्टै चुल्हो बाल्ने साथीहरु पनि अब यहाँबाट हुँदैन भन्ने ठाउँमा पुगेजस्तो लाग्छ। विप्लवजी लगायतका सबै साथीहरु एकदिन नेकपामै आउनुहुन्छ।’
प्रचण्डले नेपाली विशेषतासहितको समाजवाद नेकपाको कार्यदिशा भएको बताए। उनले भने, ‘हामीले समाजवादी क्रान्तिको कार्यदिशा भनेका छौं। यसमा सबै जना सँगै बसेर खुला छलफल गर्न सकिन्छ। हामी क्रान्तिकै मान्यतामा छौं। यहीँ खुला छलफल गरेर क्रान्तिललाई निष्कर्षमा लैजान सकिन्छ।’
प्रचण्डले नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने आफ्नो सपना लक्ष्यको नजिक पुग्न लागेको बताए। उनले भने, ‘अलग अलग बसेर केही हुनेवाला छैन। यो कुरा सबै नेता–कार्यकर्ताले बुझ्नुपर्छ। नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने हाम्रो लक्ष्य सफलताको नजिक छ।’
हेर्नुस् भिडियो
विप्लव समुहबाट नेकपा प्रवेश गरेका माेहन कार्कीलार्इ स्वागत गर्दै अध्यक्ष प्रचण्ड। २०७६–०९–२६
विप्लव समुहबाट नेकपा प्रवेश गरेका माेहन कार्कीलार्इ स्वागत गर्दै अध्यक्ष प्रचण्ड। २०७६–०९–२६
Posted by क. प्रचण्ड / Comrade Prachanda on Friday, January 10, 2020