काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी) राज्यविरुद्ध सशस्त्र विद्रोह गरिसकेको विद्रोही नेकपा पनि एक दिन नेकपामै आउने बताएका छन्।
शनिबार धुम्बाराहीमा बोल्दै प्रचण्डले वैद्य, विप्लव लगायतका कुनै पनि शक्तिले नेपालमा मौलिक ढंगले क्रान्ति गर्न नसक्ने बताए। उनले भने, ‘हामीहरुले पनि आफ्नो अवस्था बुझ्नुभएकै होला। यसरी हुँदैन भन्ने उहाँहरुलाई पनि अनुभूति हुँदै गएको छ। एक दिन नेकपामै आउनुहुन्छ। ढिलो र वा चाडोको कुरा मात्र हो।’
धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई बोल्दै प्रचण्डले जनयुद्ध दार्शनिक, वैचारिक र राजनीतिक आन्दोलन भएको बताए। उनले भने, ‘महान् जनयुद्ध कुनै आतंकवादी गतिविधि थिएन। हामीले निश्चित दर्शन, विचार र आदर्शलाई स्थापित गर्ने सङ्कल्पसहित जनयुद्ध गरेका थियौं। त्यो महान् दार्शनिक, वैचारिक र राजनीतिक आन्दोलन थियो। कमरेड मोहन कार्कीहरुले अग्रमोर्चामा बसेर त्यो कुरा स्थापित गर्नुभएको थियो।’
प्रचण्डले विप्लव लगायतका सबै पार्टीका नेता–कार्यकर्ता ढिलो चाँडो नेकपामै आउने विश्वास व्यक्त गरे। उनले भने, ‘शान्ति प्रक्रियायता केही साथीहरु यसरी हुँदैन भनेर अलग हुनुभएको छ। तर, उहाँहरुको अवस्था हेर्दा त्यहाँ धेरै टिक्ने अवस्था देखिँदैन। छुट्टाछुट्टै चुल्हो बाल्ने साथीहरु पनि अब यहाँबाट हुँदैन भन्ने ठाउँमा पुगेजस्तो लाग्छ। विप्लवजी लगायतका सबै साथीहरु एकदिन नेकपामै आउनुहुन्छ।’
प्रचण्डले नेपाली विशेषतासहितको समाजवाद नेकपाको कार्यदिशा भएको बताए। उनले भने, ‘हामीले समाजवादी क्रान्तिको कार्यदिशा भनेका छौं। यसमा सबै जना सँगै बसेर खुला छलफल गर्न सकिन्छ। हामी क्रान्तिकै मान्यतामा छौं। यहीँ खुला छलफल गरेर क्रान्तिललाई निष्कर्षमा लैजान सकिन्छ।’