काठमाडौं। हामी कतिले आफ्नो वैयक्तिक जीवनमा स्वाभिमानको कुरा गरिरहेका हुन्छौं। तर, हामीले भन्ने गरेको स्वाभिमानमा सबैभन्दा ठूलो हिस्सा अहंकारको हुन्छ। मान्छेले आफूमा भएको अहंकारलाई स्वाभिमानको नाम दिएर लुकाउने कोशिस गरिरहन्छ। तर, अहंकार एक भयानक रोग भएको वैज्ञानिक निष्कर्ष छ।
हामी सबै जीवनमा केही बन्न केही प्राप्त गर्न चाहन्छौं। जीवनमा सफल हुन चाहन्छौं। तर धेरै मानिसमा एउटा नराम्रो बानी हुन्छ। धेरै मान्छेहरु हुन्छन्, जसले अरु अघि नबढोस्, भन्ने चाहन्छन्, अरुको रिस गर्छन्, अहंकार गर्छन्। अरुको प्रगतिमा रिस गर्छन्, आफूले आफूमा अहंकार गर्छन्। तर, त्यसले अरु कसैलाई पनि घाटा गर्दैन, स्वयं उही व्यक्ति नै त्यसको शिकार बन्न पुग्दछ।
अहंकार के हो ?
इर्श्या, असत्य, रिस, क्रोध, लोभ, मोह जस्तो मानसिक विचारले ग्रस्त हुनु नै रोग हो, अहंकार हो। मस्तिस्कमा उत्पन्न हुने एक हर्मोनले मानिसमा डाहा र अहंकार ल्याउने वैज्ञानिकहरुको दावी छ। तसर्थ, उनीहरु यसलाई एक भयानक मानसिक रोग भन्ने गरेका छन्। त्यो हर्मोनको विकासले मानिसलाई क्रमशः अहंकारी र रिसालु पनि बनाउँदै लैजान्छ।
हामीले जे कुरालाई स्वाभिमान भनिरहेका हुन्छौं, त्यो एक रोग मात्र हो। स्वाभिमानले कहिल्यै पनि अरुको कूभलो चिताउँदैन, अर्काको प्रगतिमा डाहा गर्दैन। स्वाभिमान त्यस्तो चीज हो, जसले स्वयं आफूलाई गलत काम गर्नबाट रोक्छ, नकारात्मक कुराबाट प्रभावित हुनबाट बचाउँछ। जब हामीले द्वन्द निम्त्याउँछौं, त्यो चाहिँ स्वाभिमान होइन, अहंकार मात्र हो।
मानिसको सोच्ने तरीका रातारात विकास हुँदैन, त्यसको आफ्नै श्रृङ्खला हुन्छ। मान्छेको मस्तिस्क पनि बाहिरी वातावरणबाट प्रभावित हुन्छ नै। हाम्रा ग्रन्थीहरुले विभिन्न खालका हर्मोन उत्पादन गर्दछन्। जब हामी कसैप्रति नकारात्मक धारणा राख्छौं, त्यसको सिधा प्रभाव हाम्रो मस्तिस्कमा पर्न जान्छ र हाम्रा ग्रन्थीहरुले नकारात्मक हर्मोन उत्पादन गर्न थाल्छन्। यस्तो हर्मोनको मात्रा बढ्दै जाँदा मान्छे घमण्डी र एकोहोरो हुँदै जान्छ।
तसर्थ हामीले स्वाभिमान र अभिमानको पर्खाल छुट्याउन सक्नुपर्छ। स्वाभिमान त्यो हो, जसले नराम्रो कुरामा सम्झौता गर्न वा झुक्न रोक्दछ। तर, अभिमान त्यो हो, जसले मित्रता, सामिप्यता, हार्दिकता, अर्काको सफलतामा आफ्नो भविष्य देख्दैन। त्यसैले अहंकारलाई त्याग्न नसके कालान्तरमा त्यो एक भयानक रोगका रुपमा बल्झिने वैज्ञानिकहरुको दावी छ।