प्रदेश ३ को नाम र स्थायी राजधानीका लागि मतदान हुँदै

pradesh 3
लाेकपाटी न्यूज

मकवानपुर, २६ पुस। प्रदेश नम्बर ३ को नाम र स्थायी राजधानीका लागि आइतबार बिहान नौ बजे मतदान हुने भएको छ। प्रदेश नम्बर ३ को नाम र राजधानीका लागि शनिबार संसदमा भएको छलफलपछि स्थगित बैठक आइतबार बिहान नौ बजेका लागि आह्वान गरिएको हो।

सभामूख सानुकुमार श्रेष्ठले शनिबारको बैठक स्थगित भएको जनाउँदै आइतबार बिहान नौ बजेका लागि आह्वान गरेका हुन्। नामका विषयमा कुनैपनि दलका सांसदहरु विभाजित भएका छैनन्। तर, प्रदेश राजधानीका पक्षमा साझा र विवेकशील पार्टीका तीन जना सांसदले काभ्रे राजधानीका लागि संसदमा प्रस्ताव दर्ता गराएका छन् ।

संसद सचिवालयले आइतबार बिहान खुल्ला मतदानको व्यवस्था गरेको छ। मतदानपछि प्रदेशको स्थायी राजधानी र नामाकरण हुनेछ। प्रदेश नम्बर ३ मा एक सय १० जना सांसद रहेका छन्। तीमध्ये सबैभन्दा बढी नेकपाको ८० जना सांसद रहेका छन् ।

शनिबारको प्रदेशसभा बैठकमा नेकपा संसदीय दलका नेतासमेत रहेका मूख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौँको प्रस्ताव पेश गरेका छन्। पौडेलको प्रस्तावमा समर्थक प्रमूख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाकी सांसद रिता माझी र राप्रपा प्रजातान्त्रीककी सांसद रिना गुरुङले प्रदेशसभा बैठकमा समर्थन जनाए। राजधानीका विषयमा सांसदहरुले भाग लिएर आफ्ना कुरा राखेका थिए।

सभाको शनिवारको दोस्रो बैठकमा प्रमूख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेशको नाम बाग्मती प्रस्ताव पेश गरेका गरे। बानियाँको प्रस्तावमा सत्तारुढ नेकपाका मुख्य सचेतक रामेश्वर फुँयाल, राप्रपाकी सांसद रिता माझी र राप्रपा संयुक्तकी सांसद रिना गुरुङले लगायतका दलका सांसदले समर्थन जनाए।

यसैगरी विवेकशील नेपाली र साझा पार्टीले काभ्रेको धुलिखेलमा राजधानी राख्न प्रदेशसभामा प्रस्ताव पेश गरेका छन्। नामका विषयमा सांसद प्रेम तामाङले असहमति जनाए पनि उनले विमतिको नाम दर्ता गराउन प्रस्तावक र समर्थक नपाए पछि दर्ता गराउन सकेनन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्