सकियो नेकपा सचिवालय बैठक, के-के भए निर्णय?

Nekapa_sachibalaya
फाइल फोटो
लाेकपाटी न्यूज

काठमाडौं, २६ पुस। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बालुवाटारमा बसेको सचिवालय बैठक सकिएको छ।आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठक सकिएको हो। उपसभामूख तुम्बाहाङफेलाई राजीनामा गर्न लगाउने नेकपा सचिवालय बैठकले निर्णय गरेको छ।

नेकपाबाट उपसभामूख बनेकी शिवमायालाई राजीनामा गराएर सभामूख निर्वाचन प्रक्रिया अगाडि बढाउने गरी निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘आजको सचिवालय बैठकले प्रतिनिधिसभामा रिक्त सभामूख पदको सन्दर्भमा निर्णय गरेको छ’, बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘रिक्त पदमा हाम्रो पार्टी नेकपाको तर्फबाट उम्मेदवारी दिनेछ, त्यसका लागि हाम्रो पार्टीका तर्फबाट उपसभामुख पदमा निर्वा्चित माननीय शिवमाया तुम्बाहाङफेले राजीनामा दिने निर्णय गरेको छ।’

उपसभामूखले राजीनामा दिएपछि मात्र सभामुख को बन्ने भन्ने टुंगो लाग्ने श्रेष्ठको भनाइ छ।
सभामुखको टुंगो नलाग्दा पुस ४ गतेपछि प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन। पुस ११ र १६ गते सूचना टाँसेर बैठक स्थगित भएको थियो। अर्को बैठक आइतबार बस्दैछ। नेकपाले शिवमायालाई राजीनामा गराएर सभामुखको टुंगो लगाउने तयारी गरेको छ।