कञ्चनपुर, २६ पुस । कञ्चनपुरको बेलौरी नगरपालिकामा थारू समुदायले आयोजना गरेको माघी मेलामा खानेपानी मन्त्री बिना मगर थारू पहिरनमा सजिदा धेरै जनाले अचम्म मानेर हेरिरहेका थिए। चौधरी समुदायले मनाउने माघी पर्व मेलाको उद्घाटनमा प्रमूख अतिथिका रूपमा खानेपानी मन्त्री मगर कार्यक्रममा सहभागी भएकी थिइन्। माघी पर्व थारू समुदायको महान चाड हो।
खानेपानी मन्त्रीको यो पहिरनमा चौधरी थारु समुदायको संस्कृति र पहिचान झल्किएको देखिन्थ्यो। मन्त्री मगरले थारू महिलाहरुले लगाउने गोन्या, ब्लाउज, कालो सल र कानमा सेतो झुम्का लगाएकी थिइन्। कार्यक्रमलाई सम्बोधन गर्दै उनले थारू समुदायको कला, संस्कृति र परम्पराको जगेर्ना गर्न आफू प्रतिबद्ध रहेको बताइन्। देशभर रहेका यस्ता थुप्रै जातजातिको कला संस्कृति र परम्पराको संरक्षण गर्नु राज्यको दायित्व भएको उनको भनाइ थियोे।
थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री मगरले भनिन्, ‘कञ्चनपुर जिल्लाको पछाडि परेको दक्षिण भेगको यो निर्वाचन क्षेत्र हिजोका दिनमा ओझेलमा थियो। यस अघिका नेतृत्व तथा जन प्रतिनिधिहरुले किन त्यतिबेला ध्यान दिएनन्, प्रश्न गर्न चाहन्छु।’ ‘यस क्षेत्रमा विकासले गति लिन सकेन भनेर हाम्रो आलोचना भएको सुनेको छु। ‘ उनले प्रति प्रश्न गर्दै भनिन् ‘जनताका अगाडि जे प्रतिबद्धता व्यक्त विकास गरेको छु त्यो पूरा गरेरै छाड्ने हो । विकास मैले नै गर्ने हो । हामी जनप्रतिनिधिले नै गर्ने हो ।’
हुलाकी सडकलगायत अन्य बाटोे, पुल पुलेसादेखि खानेपानी लगायत पूर्वाधार संरचनाको हरेक क्षेत्रमा आफ्नो ध्यान केन्द्रित रहेकोे र केही कामहरु अगाडि बढाइएको उनले स्पष्ट पारिन्। बेलौरी भन्सारलाई मूख्य भन्सारका रूपमा अगाडि बढाउन प्रक्रिया अघि बढेको उनले जानकारी दिइन्। उनले यो क्षेत्रमा पर्यटन पूर्वाधार विकासका लागि महत्वपूर्ण कामहरु अगाडि बढेको बताइन्।
कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वा्चित प्रतिनिधि सभा सदस्य समेत रहेकी मन्त्री बिना मगरले जनताबाट प्रत्यक्ष निर्वा्चित भएर आफ्नो निर्वाचन क्षेत्रको विकासको जिम्मेवारी अहिलेका स्थानीय, प्रदेश र प्रतिनिधि सभाका जनप्रतिनिधिलाई भएकोले सके सहयोग गर्न, नसके अवरोध नगर्न सुझाव दिइन्। उनले निर्वाचनको समयमा गरेका प्रतिवद्धता क्रमिक रूपमा पूरा गरिरहेको दाबी गरिन्।
कार्यक्रममा विभिन्न क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेका व्यक्तिहरुलाई मन्त्री मगरले सम्मान गरेकी थिइन्। कार्यक्रमको उद्घाटन अघि खानेपानी मन्त्री मगर थारू ड्रेसमा झाँकी सहित र्यालीमा सहभागी भएकी थिइन्। कार्यक्रमको आयोजना र व्यवस्थापन थारू कल्याणकारिणी सभा बेलौरीले गरेको थियो ।