काठमाडौँ। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दरौदीमा खेल्दा भोकाएर उखु चोर्न बाध्य पृथ्वीनारायण शाहको आत्मालाई खुसी पार्न सार्वजनिक विदा नभएर १२ घण्टा काम गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल ट्वीटमा डा. भट्टराईले पृथ्वीनारायण शाहबारे धेरै धुपबत्ति गर्न आवश्यक नरहेको पनि उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘…धेरै धुपबत्ति गरिरहनु पर्दैन। दरौदीमा खेल्दा भोकाएर केशव द्वारेको उखु चोर्न बाध्य पृनाको आत्मालाई खुसी पार्ने हो भने उनको जन्मदिनमा छुट्टी होइन, १२ घण्टा काम गरेर देशलाई धनी बनाऊ।’
पृथ्वीनारायणका बारेमा देवत्वकरण र दानवीकरण दुवै अशोभनीय भएको समेत उनले लेखेका छन्। कसैको पनि मूल्याङ्कन ऐतिहासिक सापेक्षतामा गरिनुपर्ने धारणा उनले राखेका छन्।
उनले लेखेका छन्, ‘…पृथ्वीनारायण शाहलाई एकथरिले देवत्वकरण र अर्काथरिले दानवीकरण गर्ने लिगलिगे दौड हुनु शोभनीय भएन। कसैको पनि मूल्याङ्कन ऐतिहासिक सापेक्षतामा गरिनुपर्छ। १८औं शताब्दीको चेतनामा उनले गरिब गोरखा राज्य विस्तार गरेका हुन् जुन प्रकारान्तरले वर्तमान नेपाल राज्य बन्न पुग्यो।’