काठमाडौं। प्रदेश नम्बर ३ को राजधानी मकवानपुरको हेटौंडा राख्ने प्रस्ताव प्रदेशसभा बैठकबाट पारित भएको छ। आइतबार भएको प्रदेशसभा बैठकले हेटौंडा राजधानी राख्ने प्रस्ताव पारित गरेको हो।
हेटौंडा राजधानी राख्ने पक्षमा एक सय ५ मत आएको छ। धुलिखेल राख्नुपर्ने पक्षमा तीन मत आएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राप्रपा र राप्रपा संयुक्तले संयुक्त प्रस्ताव पेश गर्दै हेटौंडा राजधानी राख्ने पक्षमा मतदान गरेका थिए।
स्वतन्त्र सांसद प्रेम तामाङ भने नाम र राजधानी दुवैमा नो भोट जनाएका थिए। प्रदेशसभामा १३ जिल्ला मकवानपुर, चितवन, धादिङ, रसुवा, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखाका गरी १ सय १० जना प्रदेश सभासदस्य रहेका छन्।
प्रदेश-३ मा पहिलो हुने निर्वाचनबाट निर्वाचितबाट ६६ जना, समानुपातिकबाट ४४ जना, दलगततर्फ तत्कालीन नेकपा एमालेबाट ५७ जना, तत्कालीन नेकपा माओवादी केन्द्रबाट २३ जना, कांग्रेसबाट २२ जना, विवेकशीलबाट ३ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, राप्रपा संयुक्तबाट १ जना, राप्रपाबाट १ जना, स्वतन्त्र १ जना प्रदेश सभा सदस्यको प्रतिनिधित्व रहेको छ।
यसअघि धुलिखेलको लागि भएको मतदानमा १०१ विपक्षमा र काभ्रेको पक्षमा ३ मत आएको थियो।