काठमाडौं, २७ पुस। काठमाडौंको बौद्धमा गोली चलेको छ। ज्यानमारा मुद्दाका फरार अभियुक्त सिन्धुपाल्चोकका विष्णु लामा तामाङलाई पक्राउ गर्न प्रहरीले बौद्धस्थित जम्भुडाँडामा गोली हानेको थियो।
लामाले काठमाडौंको जोरपाटी आसपास आधार क्षेत्र बनाएर विभिन्न व्यक्तिहरुसँग चन्दा संकलन गर्ने र धम्की दिँदै आएको बताइएको छ। गोली लागेका तामाङ घाइते छन्। लामालाई ट्रमामा उपचारको लागि लगिएको महानगरीय महाशाखाले जनाएको छ। उनको दाहिने खुट्टाको घुँडामुनि गोली लागेको महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।
‘भाग्न खोजेपछि नियन्त्रणमा लिन गोली चलाउनुपरेको हो,’ उनले भने। तामाङमाथि बालिका हत्या अभियोगमा मुद्दा छ।