एजेन्सी। एक प्रतिवेदनले जापानी पासपोर्ट संसारमा सबैभन्दा शक्तिशाली भएको देखाएको छ। संसारका विभिन्न मुलुकका पासपोर्टको शक्ति मापन गर्ने ‘हेन्ली पासपोर्ट इन्डेक्स’ले यस्तो देखाएको हो।
सूचकांकअनुसार जापानी पासपोर्टले विश्वका १ सय९१ गन्तव्यमा बिना–भिसा वा आउने बित्तिकै भिसा पाउँछ। यो विश्वका सबै भिसामध्ये धेरै हो। विश्वका शक्तिशाली पासपोर्टको सूचिमा एशियाली देशको वर्चश्व छ ।
जापानलाई पछ्याउने क्रममा सूचिको दोस्रो स्थानमा १ सय ९० अंकसहित सिंगापुर छ। तेस्रो स्थानमा भने दक्षिण कोरिया र जर्मनी बराबरी छन्। यी दुबै देशको पासपोर्टले १८९ अंक पाएका छन। सूचिको शीर्ष १० को बाँकी स्थानमा यूरोपेली देशका पासपोर्टकै हालीमुहाली छ।
शक्तिशाली पार्सपोर्टको सूचिमा स्पेन, लक्जेम्बर्ग र डेनमार्क पाँचौं स्थानमा छन्। त्यस्तैगरी स्वीडेन र फ्रान्सेली पासपोर्ट भने छैठौं स्थानमा छन्। स्वीटजरल्याण्ड, पोर्चुगल, नेदरल्याण्ड आयरल्याण्ड र अष्ट्रियाली पासपोर्ट सातौं स्थानमा छन्।
पछिल्लो समय वरियतामा अमेरिका र बेलायती पासपोर्ट क्रमिक रुपमा खस्किदै गइरहेका छन्। यस वर्ष दुबै पासपोर्ट आठौं स्थानमा छन् । नवौं स्थानमा न्यूजील्याण्ड माल्टा, चेक गणतन्त्र, क्यानडा र अष्ट्रेलियाली पासपोर्ट छन् भने १० औं स्थानमा स्लोभाकिया, लिथुयानिया र हंगेरी छन् ।
संयुक्त अरब इमिरेट्स (यूएई) को पासपोर्ट सूचिमा १८ औं स्थानमा छ । विगत १० वर्षमा सूचकांकमा सबैभन्दा धेरै फड्को मार्ने पासपोर्ट पनि यूएई नै हो । यस अवधिमा वरियतामा सो पासपोर्ट ४७ स्थान माथि उक्लिएको छ ।
नेपाली पासपोर्ट १०१ औं स्थानमा
सूचिमा नेपाली पासपोर्ट सबभन्दा कमजोर मध्येमा छ । सूचकांकमा सूचीकृत कुल १०७ देशका पासपोर्टमध्ये नेपाली पासपोर्ट १०१औं स्थानमा छ । नेपाली पासपोर्टले विश्वका ३९ गन्तव्यमा बिना–भिसा प्रवेश वा आउने बित्तिकै भिसा पाउँछ ।
सूचिमा पुछारमा परेकोलाई सबैभन्दा खराब मान्दा नेपाली पासपोर्ट सातौं खराब हो । सूचिको पुछारमा अफगानिस्तान छ। यसलाई पछ्याउने क्रममा क्रमशः इराक, सिरिया, सोमालियार पाकिस्तान, यमन र लिबिया छन्।
नेपालभन्दा ठ्याक्कै माथि भने उत्तर कोरिया छ। सूचकांकले सबैभन्दा धेरै गन्तव्य (मुलुक) मा प्रवेश गर्न भिसा नचाहिने वा आउने बित्तिकै भिसा पाउने आधारमा पासपोर्टको शक्ति निर्धारण गर्दछ ।