काठमाडौं। शालीनदीमा लाग्ने स्वस्थानी मेलाका लागि प्रहरीले सुरक्षा मजबुत बनाएको छ। स्वस्थानी व्रत सुरु भएसँगै काठमाडौँको शंखरापुर नगरपालिकास्थित साँखुको शालीनदीमा शुक्रबारदेखि स्वस्थानी मेला सुरु भएको हो। हरेक वर्ष लाग्ने स्वस्थानी मेला एक महिनासम्म लाग्ने गरेको छ।
हिन्दु महिलाहरूले स्वस्थानी व्रतमा शालीनदीमा गएर नुहाउने गर्छन्। एम महिनासम्म आयोजना हुने यस मेलामा करिब २५ लाख श्रद्धालु भक्तजन सहभागी हुने आकलन गरिएको छ। साँखु प्रभागका प्रमूख प्रहरी निरीक्षक गोविन्द पन्थीले मेलाको उचित व्यवस्थापन र शान्ति सुरक्षाको उचित व्यवस्था मिलाइएको बताएका छन्। उनले मेलालाई व्यवस्थित बनाउन र सुरक्षाका लागि प्रहरी ‘हेल्प डेस्क’को स्थापना गरेको समेत जानकारी दिए।
पन्थीले सुरक्षाका लागि मेलामा ७० जना युनिफर्म तथा अन्य सादा पोसाकमा प्रहरी टोली परिचालन गरिएको बताए। तीर्थयात्रीको सुरक्षालाई थप मजबुत बनाउन सिसिटिभी फुटेजबाट पनि अवलोकन गरिने पन्थीले बताए। साथै २४ घण्टै सुरक्षाकर्मीले सेवा दिने समितिले जनाएको छ। रातको समयमा चार टोली सुरक्षाका लागि खटाइने बताइएको छ।
उनले भने, ‘अवान्छित व्यक्ति भिडभाडमा छिर्ना साथ नियन्त्रण गरिनेछ। मेला लाग्ने क्षेत्रमा सिसिटिभी जडान गर्ने कार्य भएको छ। जसको मनिटर हामीले गर्ने छौ। शालीनदी सुधार समिति, शंखरापुर नगरपालिका र सरोकार समूहसँग हामीले समन्वय गरी राखेका छौँ। मेला अवधिभरका लागि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी उल्लेखनीय सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। सादा पोसाकमा पनि प्रहरी परिचालन गरिएको छ। गलत प्रवृत्तिका व्यक्तिलाई नियन्त्रणमा ल्याउन सजिलो हुनेमा म ढुक्क छु।’
उनले शालीनदी मेला क्षेत्र भित्र मादक पदार्थ सेवन र जुवा जन्य खेल पूर्णतः निषेध गरिएको बताए। उपभोक्तालाई ठगिनबाट रोक्नका लागि प्रत्येक पसलले मूल्य सूची राख्नुपर्ने अनिवार्य व्यवस्था गरिएको उनले जानकारी दिए। सडक सुरक्षाका लागि साँखु बस व्यवसायी सङ्घ र बाबा गोकर्णेश्वर र आमा हेल्म्वोसँग समन्वय गरी सवारी व्यवस्थापन गर्ने योजना बनाएको उनले सुनाए।
साना सवारी साधनको लागि नगरपालिकाले निश्चित ठाउँ तोकेर पार्किङ व्यवस्था मिलाइएको प्रहरी निरीक्षक पन्थीले बताए। गाडी भाडा एक रुपताको लागी यस क्षेत्रमा चल्ने बसमा भाडा दर अनिवार्य टास्नु पर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गरिएको समेत उनले जानकारी दिए।