संवैधानिक पदमा बसेर बार्गेनिङ गर्न मिल्दैनः देव गुरूङ

deb gurung
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरूङले संवैधानिक पदमा बसेर बार्गेनिङ नगर्न उपसभामुखलाई आग्रह गरेका छन्। व्यक्तिका इच्छा, आकांक्षा पूरा गर्न सदन अवरूद्ध गर्न नहुने उनले बताए।

नेकपाले सभामुख उम्मेदवार टुंगो लगाउन नसक्दा तेस्रोपटक संसद बैठक स्थगित भयो। अब माघ ६ गते दिनको १ बजे अर्को बैठक बस्नेछ। तर गुरुङले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएर मार्गप्रशस्त गरिदिनुपर्ने बताए।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा गुरुङले भने, ‘संवैधानिक पदमा बसेर बार्गेनिङ गर्ने नैतिकता कसैलाई पनि छैन। कम्युनिष्ट पार्टीमा त झनै त्यो कुरा स्वीकार्य छैन।’ उनले उपसभामुख यथावत् रहेको अवस्थामा नेकपाले सभामुखमा उम्मेदवारी दिन नमिल्ने पनि बताए।

संविधानअनुसार पनि उपसभामुखलाई सभामुख बनाउने व्यवस्था नरहेको तर्क उनको थियो। ‘उपसभामुख पदमा रहिरहेर सभामुखमा उम्मेदवारी दिन मिल्दैन,’ उनले भने, ‘सभामुखमा उम्मेदवारी दिने नै हो भने पनि उपसभामुखबाट त राजीनामा नै दिनुपर्छ।’

उनले पुरूष या महिला को सभामुख बन्ने भन्ने अहिलेको बहस नभएको पनि बताए। ढिलोछिटो उपसभामुखले राजीनामा दिनेमा आफू विश्वस्त रहेको गुरुङले बताए। उनले संसद अवरूद्ध हुनु दु:खद भएको पनि बताए। सदनमा बहुमत भएकोले नेकपाले सभामुख पदमा उम्मेदवारी दिने उनको भनाइ छ।