विराटनगर। नेपाली कांगेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रदेश १ का जनप्रतिनिधिसँग छलफल गरेका छन्। कोइराला निवास विराटनगरमा उनले कांग्रेसका तर्फबाट विजयी स्थानीय तहका प्रमूख, उपप्रमूख, अध्यक्ष तथा उपाध्यक्षहरुसँग समसामयिक राजनीतिको विषयमा छलफल गरेका हुन्।
छलफलमा कोइरालाले कांग्रेस अहिले जत्ति अफ्ठेरो अवस्थामा कहिल्यै नपुगेको बताए। ‘हामी विपक्षी भएदेखि नै विभिन्न ढंगले प्रहार भईरहेको छ। योसँग जुध्नको लागि पनि पार्टी एकढिक्का हुन जरुरी छ,’ उनले जनप्रतिनिधिसँग भने। कोइरालाले सरकारको गतिविधि अधिनायवादतर्फ उन्मुख रहेको र यसले जनताका अधिकारलाई कुण्ठित बनाउने षडयन्त्र गरिरहेको बताए।
प्रमुख उपप्रमुखहरु कांग्रेसको टिकट पाएर विजयी भएको र अहिलेको समस्यालाई पार लगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए। उनले भने, ‘तपाइँहरुले गरेको कामले सिंगो पार्टी र जनतामाझ पनि सन्देश जान्छ।’
उनले निश्पक्ष र विकासमा ध्यान दिएर जनमुखी काम गर्न प्रमुख उपप्रमुखहलाई सुझाव दिए। छलफलमा भेला भएका प्रमुखहरुले पार्टीमा देखिएका समस्यालाई शीर्घ समाधान गर्नुपर्ने सुझाव दिएका थिए। उनीहरुले कांग्रेस विजयी भएका पालिकाहरुमा समेत काम गर्न कठिनाइ भएको दृष्टान्त प्रस्तुत गरेका थिए।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले छलफलले आफूहरुबीचका अनुभव आदान प्रदान गर्न समेत मद्धत मिलेको सुनाए। ‘यस्ता सन्दर्भले काम गर्दाका समस्या र अनुभव आदान प्रदान गर्न समेत सहयोग हुने गरेको छ,’ उनले भने।