कैलाली, २९ पुस । कैलालीमा ६५ लाख भारतीय रुपैयाँसहित तीनजना पक्राउ परेका छन्। चोरीमा संलग्न रहेको आरोपमा श्रीमान्–श्रीमतीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
भारतको राजधानी नयाँदिल्लीका विशेश्वर अग्रवालको कार्यालयबाट नगद र गरगहना चोरी भएको थियो। यो गएको मंसिर ४ गतेको घटना भएको थियो। त्यसमा नेपाली कामदारको संलग्नता रहेको आशंका गरियो। सोको जानकारी जिल्ला प्रहरी कार्यालय कैलालीलाई आयो। त्यसपछि खटिएको प्रहरीले सुरुमा कैलालीको गौरीगंगा नगरपालिका २ की बिन्दा थापालाई केही रकमसहित पक्रेको थियो।
उनलाई यही पुस १४ गते गौरीगंगास्थित घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। थापाले दिएको बयानका आधारमा थप दुई जनालाई ६५ लाख भारुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । बाजुराको बूढीगंगा १ का २९ वर्षीय जयसिंह थापा र उनकी श्रीमती मनाकुमारी खड्कालाई पक्राउ गरिएको उनले जानकारी दिए।
गौरीगंगा २ बाट सोमबार नियन्त्रणमा लिइएका उनीहरुलाई मंगलबार सार्वजनिक गरिएको हो।प्रहरीकाअनुसार बिन्दा थापासित जयसिंह र उनकी श्रीमतीको आफन्त नाता पर्छ। बिन्दा गौरीगंगा २ निवासी हुन्। उनलाई जयसिंह र उनकी श्रीमतीले एउटा टिनको बाकस लुकाएर राख्न दिए। बाकसमा के थियो, उनलाई ‘भनिएन’। बाकसलाई सुरक्षित र गोप्य तरिकाले राख्नमात्र भनियो। बिन्दाको कच्चीघरमा रहेको कोठाभित्र खाटमुनि खाल्टो खनेर सो बाकस राखियो।
टिनको बाकसभित्र प्लास्टिक र कपडामा बेरी लुकाइ–छिपाइ राखेको अवस्थामा ६५ लाख भारु बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका श्रीमान्–श्रीमती चोरी भएको भारतीय नागरिकको घरमा कामदारको रुपमा विगत लामो समयदेखि कार्यरत् रहेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।