पर्वत, २९ पुस। गण्डकी प्रदेशका सभामूख नेत्रनाथ अधिकारीले पर्वत जिल्लाको राम्जा पर्यटनको हब बन्नसक्ने बताएका छन्। मंगलबार पर्वतको राम्जामा अवस्थित स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै नेता अधिकारीले उक्त कुरा बताएका हुन्।
स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै नेता अधिकारीले भने, ‘नेपालको पर्यटन क्षेत्रमा अथाह सम्भावना छ। पर्वत जिल्लाको राम्जा र पञ्चासे क्षेत्र प्राकृतिक सुन्दरताका दृष्टिले अत्यन्तै रमणीय क्षेत्र हो। यस क्षेत्रमा पर्यटनका बहुआयमिक सम्भावना छन्। राम्जालाई पर्यटनको हब बनाउन सकिन्छ।’
सभामूख अधिकारीले परम्परागत सोंचबाट माथि उठेर मात्र शिक्षा क्षेत्रमा रुपान्तरण गर्न सम्भव भएको बताए। ‘परम्परागत सोंचबाट समृद्धि र शिक्षामा रुपान्तरण सम्भव छैन। हामीले रचनात्मक ढंगले सोचौं। त्यहीअनुसारको शिक्षा प्रणालीका लागि मेहेनत गरौं।’
कार्यक्रममा प्रदेश सांसद ललितकला गुरुङले शिक्षामा गरिने परिवर्तनले समाज परिवर्तन गर्ने बताइन्। त्यसैगरी नेकपाका केन्द्रीय सदस्य विजय गुरुङले राजनीतिकर्मीले पहिले शिक्षामा रुपान्तरण गर्नुपर्ने र त्यसका लागि आफू क्रियाशील भएको बताए। कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य गुप्त हमाल, गाउँपालिका उपाध्यक्ष सेती महत लगायतले बोलेका थिए।
मंगलबार रजत जयन्तीको श्रृङ्खलाअन्तर्गत राष्ट्रिय गीत प्रतियोगिता आयोजना गरिएको थियो। उक्त प्रतियोगितामा विभिन्न ८ विद्यालयका प्रतियोगीहरुले भाग लिएका थिए। रजत जयन्तीका कार्यक्रमअन्तर्गत बुधबार बृहत पुनर्मिलन कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।