राष्ट्रिय संस्कृतिलाई विश्वव्यापी स्थापित गरौं : प्रचण्ड

prachanda
लाेकपाटी न्यूज

काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माघे संक्रान्ति (मकर संक्रान्ति) पर्वले आपसी सदभाव, सामाजिक एकता र भातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन्।

माघे संक्रान्तिको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले समस्त समुदायहरुमा बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गरोस् कामनासमेत गरेका छन्।

‘थारु, मगर लगायतका आदीवासी जनजाती एंव आम नेपालीहरुले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति)को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकाना व्यक्त गर्दछु,’ अध्यक्ष दाहालले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

उनले विविधताभित्रको एकता नेपालीको मौलिक पहिचान भएको बताए। ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक तथा बहुधार्मिक मुलुक हो’, उनले भने, ‘विविधता भित्रको एकता नै हामी नेपालीको मौलिक पहिचान हो। बहुभाषा, बहुधर्म र बहुसंस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान एवं सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन्।’