मस्को। लिबियाका सैनिक नेता खालिफा हफ्तर युद्धविराम नगरी मस्कोबाट फिर्ता भएपछि लिबियाली युद्धविराम अन्योलग्रस्त भएको छ। हफ्तरले रूसको पहलमा भएको युद्धविराम वार्ताबाट बाहिरिएपछि नौ महिना लामो लिबियाली द्वन्द्व अन्त्यका लागि सम्झौता अनिश्चित बनेको छ। लिबियामा फायल अल साराजको सरकारलाई संयुक्त राष्ट्रसंघको समर्थन रहेको छ।
रूसी समाचार संस्था आरआईए नोभोस्तीले बेंगाजीस्थित हफ्तारको स्रोतलाई उद्धृत गरी भनेको छ, ‘साराजको राष्ट्रिय सहमतिको सरकारमा सम्मिलित समूह विघटनको समयसीमा उल्लेख नभएका कारण हफ्तारले सहमतिमा हस्ताक्षर गर्नुभएन।’
विद्रोही नेता हफ्तर बिहानै बाहिरिएपछि हालै अन्तर्राष्ट्रियस्तरबाट युद्धविराम वार्ताका लागि भएको कूटनीतिक दबाव व्यर्थ बनेको छ। यद्यपि रूसले आफूले मध्यस्थताका लागि प्रयास जारी राख्ने बताएको छ। ‘सात वर्षको निरन्तर द्वन्द्वको सामना त्यहाँका नागरिकले गरेपछि साराज र हफ्तारले युद्धविरामका लागि इच्छा देखाए पनि सम्झौतामा साराजले हस्ताक्षर गरेका छन् भने हफ्तारको प्रतिनिधिमण्डलले हस्ताक्षर नगरी बाहिरिएको छ’, रूसी अधिकारीले भने।
लिबियामा युद्धविराम गराउन पहल जारी राख्ने रूसी विदेशमन्त्रीले बताए। रूस, यूरोपेली शक्तिराष्ट्रहरू र लिबियाका छिमेकीले यसैअनुरूप द्वन्द्वरत लिबियाली पक्षलाई वार्ताका लागि प्रेरित गरेको पनि लाभरोभले बताए। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग लिबियाबारे युद्धविराम सम्झौताका लागि पहल गरेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले हफ्तारले द्वन्द्व शुरु गरे उनलाई ‘पाठ सिकाउने’ चेतावनी दिएका छन्।
यसैबीच फ्रान्सेली राष्ट्रपति एम्यानुएल माक्रोँले रोष प्रकट गर्दै भने, ‘लिबियामा हफ्तरले युद्ध जारी राखेमा यसको कठोर नतिजा भोग्नुपर्नेछ।’त्रिपोलीलाई पूर्व सैनिक हफ्तार पक्षधर समूहले गत अप्रिलदेखि आक्रमणको निशाना बनाउँदै वरपरका क्षेत्रमा आक्रमण शुरू गरेको थियो। नौ महिनासम्मको लडाइपछि दुबै समूहले अन्तर्राष्ट्रिय दवाबमा वार्ताका लागि तयार भएका थिए।
हफ्तारले आफ्नो समर्थन गर्दै आएका राजनीतिक समूहलाई हातमा लिई उत्तर अफ्रिकाको तेलका लागि धनी मानिने पूर्वी क्षेत्रमा रहेर आफ्ना गतिविधि सञ्चालन गर्दै आएका छन्। लामो प्रयासपछि दुई समूहबीच युद्धविराम गर्न गत साता सहमत भएपछि दीर्घकालीन सहमतिका लागि हफ्तार सोमबार मस्को पुगेका थिए।
यसले सन् २०११ मा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)को आडमा भएको विद्रोहले तत्कालीन शासक मोहमर गद्दाफीलाई पदच्युत गरेको थियो। त्यसपछि लिबिया गृहयुद्धमा फसेको छ। –अन्नपूर्ण पोस्टबाट