काठमाडौं। आफू वषौं देखि द्वारिका होटेल नगएको दाबी गरेका चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी गत मंसिरमा द्वारिका होटेल गएको खुलासा भएको छ। गएको उपचुनावको भोलिपल्ट आफूले श्रीकृष्ण गिरीलाई द्वारिका होटेल छिर्दै गरेको देखेको एक जना प्रत्यक्षदर्शीले सामाजिक सञ्जालमा खुलासा गरेका हुन्।
साझा पार्टीका नेता समेत रहेका उच्च शिक्षा बोर्डका पूर्व सदस्यसचिव नारायण कोइरालाले गत मङ्सिर ६, ७ र ८ गतेको एपिओ समिट रिभ्यूको बैठकका दौरान आफूले डा. श्रीकृष्ण गिरीलाई द्वारिका होटेलमा देखेको कुरा सामाजिक सञ्जालमा सार्वजनिक गरिसकेका छन्।
उक्त प्रसङ्गमा उच्च शिक्षा बोर्डका पूर्व सदस्यसचिव कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, उपचुनावको भोलिपल्ट मैले डा. श्रीकृष्ण गिरीजीलाई एक्लै द्वारिका होटेलमा छिर्दै गरेको देखेको हुँ। प्रसाईँ भन्ने व्यक्ति चाहिँ देखिएनन्। मंसिरको ६, ७, ८ गते भएको एपिओ समिटको रिभ्यू गर्न हामी केही व्यक्ति पनि त्यस दिन सोही होटेलमा थियौँ।
बुधवार उज्यालोनेपालसंगको टेलिफोन कुराकानीमा पनि पूर्व सदस्यसचिव कोइरालाले आफूले डा. गिरीलाई उक्त दिनमा देखेको बताए। तर, अरू प्रयोजन थाहा नभएको र यस्ता विषयमा आफू थप टिप्पणी गर्न इच्छुक नरहेको पूर्व सदस्यसचिव कोइरालाको प्रतिक्रिया थियो। यसरी, वषौं देखि आफू द्वारिका होटेलमा नगएको भन्ने डा. गिरीको दाबी झुट साबित भैसकेको छ। भोलि अदालतले होटेलका फुटेज खोज्दा झन् असली अनुहार डा. गिरीकै उदाङ्गो हुनेछ। टेलिकमले कल डिटेल खोज्दा पनि उनको झुट थप प्रमाणित हुनेछ।
आफू द्वारिका होटेल नगएको भनेर सार्वजनिक पदमा बसेका डा. गिरीले झुट बोलेका छन्। सार्वजनिक पदमा बस्नेले झुट बोल्नु शोभनीय मानिँदैन। आफूमाथि मेडिकल उद्यमी दुर्गा प्रसाईँले २० करोड घुस मागेको भनी लगाएको आरोपको प्रतिवाद गर्दा आफू होटेलमा नै नगएको दाबी गरे पनि यसबाट डा. गिरी आफै नाङ्गिएका छन्। आयोगको उपाध्यक्ष नियुक्त हुनदेखि सुरु भएको उनको झुट खेती होटेल नगएको दाबीसम्म गलत प्रमाणित हुँदा पनि उनले गल्ती स्वीकार भने गरेका छैनन्, उल्टै प्रसाईँ विरुद्ध मानहानिको मुद्दा दायर गरेर झुटको ढाकछोप गर्न लागिरहेका छन्। -उज्यालोनेपालबाट