काठमाडौं, २ माघ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले विपदलाई सहि ढंगले व्यवस्थापन गर्न सके मात्रै समृद्ध नेपाल सुखी नेपालीको नारा पूरा गर्न सकिने बताएका छन्। २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा राजधानीमा आयोजना भएको कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री थापाले सो कुरा बताएका हुन्।
सुरक्षित पूर्वाधार निर्माणका लागि नागरिकलाई सचेत बनाउन सकेको अवस्थामा दिगो सुख र समृद्धिको आधार निर्माण गर्न सकिने थापाले बताए। पुस १५ गतेदेखि माघ १५ गतेसम्म विभिन्न कार्यक्रम गरी भूकम्प सम्बन्धी जनचेतना जगाईदै छ।
गृहमन्त्रालयले सातवटै प्रदेश, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७५३ वटै स्थानीय तहलाई निर्देशन दिएको छ। भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालेको थियो।