ओली-प्रचण्डबीचको छलफल सकियो, को बन्दैछ सभामूख ?

Prachanda-Oli
लाेकपाटी न्यूज

काठमाडौं, २ माघ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको भेटवार्ता सकारात्मक भएको छ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार करिव २ घण्टा भएको छलफल सकारात्मक भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।

सभामूख चयनका लागि दुई अध्यक्षले फरक-फरक नेतालाई अघि सारेपछि समस्या भएको थियो। तर आजको छलफल सकारात्मक रुपमा अघि बढेको ‘ब्रिफिङ’ प्रचण्डले सचिवालयलाई गरेका छन्। प्रधानमन्त्री ओलीसँगको भेटवार्तापछि बालुवाटारबाट बाहिरिँदा प्रचण्ड हर्षित देखिएको श्रोतको भनाइ छ। ओलीले यसअघि सुवास नेम्वाङलाई सभामूख बनाउने अडान राखेका थिए भने प्रचण्डले अग्नी सापकोटालाई सभामूख बनाउने अडान लिएका थिए।

सचिवालय बैठकले उपसभामूख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने निर्णय गरेको भएपनि उनले पार्टीका दुई अध्यक्षहरुसँगको भेटवार्तामा आफूले राजीनामा नदिने अडान कायमै राखेकी थिइन्। राष्ट्रपतिको सद्भाव पाएपछि शिवमाया राजीनामा नगर्ने मनस्थितिमा पुगेकी थिइन् भने बालुवाटारले पनि शीलतनिवासको सदासयतामा मौन स्वीकृती दिएको प्रचण्ड पक्षका नेताहरुको दाबी थियो । त्यसयता ओली र प्रचण्डबीच छलफल नै रोकिएको थियो।

‘प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीचको आजको बैठकपछि सभामूख चयनबारे चाँडै सहमति हुने देखिएको छ’ स्रोतले बताएको छ,‘बैठक सकारात्मक रुपमा अघि बढेको छ। माघ ६ गतेलाई बोलाइएको प्रतिनिधि सभा बैठक अगावै सभामूखबारे निर्णय भइसक्ने नेकपाका महासचिव विष्णु पौडेलले बताए। संसद बैठक अगावै सभामूख चयनका बारेमा निर्णय हुने महासचिव पौडेलले बताए।