महोत्तरी, ३ माघ। शिक्षा बिज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले विद्यालय मर्जर अहिलेको आवश्यकता रहेको बताएका छन्। महोत्तरीको बर्दिवासमा बर्दिवास नगरपालिकाले आयोजना गरेको “बर्दिवास शिक्षा सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सार्वजनिक विद्यालयको सवलिकरणको लागि शिक्षालाई गुणस्तर बनाउन र सार्वजनिक विद्यालयको गुज्रिदै गरेको समस्यालाई सम्बोधन गर्न विद्यालय मर्जर अहिलेको आवश्यकता रहेको बताए।
विद्यालयहरु धेरै खुलेका छन् गुणस्तर छैन्न्, मन्त्री पोखरेलले भने शैक्षिक गुणस्तर बृद्धिको लागि, सुधारको लागि, शैक्षिक क्षेत्रमा देखिएको चुनौति र समाधानका लागि विद्यालय मर्जर आवश्यक रहेको बताए। सरकारले सार्वजनिक विद्यालयको सवलीकरणको लागि दशकिय अभियान सुरु गरेको र यो अभियानमा सबैको साथ र सहयोग आवश्यकता रहेको बताए।
अभियानमा सबैलाई साथदिन उनले आग्रहसमेत गरे। सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले विद्यालयमा शिक्षक अभावलाई परिपूर्ति गर्न सरकारले दरवन्दी थप गर्न शिक्षक सिकाई अनुदान र स्वयम् सेवक शिक्षक पठाउने कार्यक्रम तयार गरिरहेको बताए।
अहिले सरकारले प्राविधिक र व्यवसायिक शिक्षालाई जोड दिएको बताउदै उनले प्राविधिक र व्यवसायिक शिक्षाले देश विकासमा कायापलट हुने बताए। यस्तो प्रकारको शिक्षा सम्मेलन सबै स्थानीयतहमा गर्नु जरुरी रहेको बताए। कार्यक्रममा सम्बोधन गर्दै बर्दिवास नगरपालिकाका नगरप्रमूख बिदुर कुमार कार्कीले बर्दिवास नगरलाई यस क्षेत्रकै शैक्षिक हव बनाउन नगरले काम गरिरहेको र सार्वजनिक विद्यालय सवलीकरण पहिलो प्राथमिकता रहेको बताए।