काठमाडौं, ४ माघ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामूख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने बताएका छन्। सभामूख पदका लागि पार्टीले उम्मेदवारी दिने निर्णय गरिसकेको उल्लेख गर्दै श्रेष्ठले उपसभामूखले राजीनामा दिएपछि मात्रै पार्टीले सभामूखमा उम्मेदवारी दिन संविधानअनुसार मिल्ने बताए।
सभामूख चयनमा ढिलाइ भएको उनले स्वीकार गरे।
‘सभामूख चयन अलि ढिलो भएको भन्ने कुरा सत्य हो। तर पनि हामी छिटै निष्कर्षमा पुर्याउँछौं,’ शनिबार नवलपरासीमा पत्रकारहरूसँग श्रेष्ठले भने, ‘माघ ६ गते संसद बैठक बोलाइएको छ। सूचना टाँसेर स्थगित गर्नु हुँदैन।’
उपसभामूखले राजीनामा दिने विश्वास पार्टीको रहेको श्रेष्ठले बताए।
‘उनले राजीनामा दिनुहुन्छ भन्ने विश्वास छ। उहाँ पार्टीबाट निर्वाचित भएरै उपसभामुख हुनुभएको हो। यसबारे थप चर्चा गर्नु जरूरी छैन,’ उनले भने। उनले समाभूख पूर्वमाओवादी वा पूर्वएमाले भन्नेमा केन्द्रित नरहेको दाबी गरे। उपर्युक्त पात्र खोजीका लागि केही ढिलाइ भएको उनको भनाइ छ।