बहुदलीय जनवाद र २१ औं शताब्दीको जनवादको च्याप्टर क्लोज भयो : मन्त्री अर्याल

padma aryal
लाेकपाटी न्यूज

महेन्द्रनगर, ४ माघ। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पूर्वएमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद र पूर्वमाओवादीले मान्दै आएको २१ औं शताब्दीको जनवादको च्याप्टर क्लोज भएको बताएकी छिन्। शनिबार नेकपा कञ्चनपुरका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै नेकपाकी केन्द्रीय सदस्यसमेत रहेकी मन्त्री अर्यालले भनिन्, हामीले सामन्तवादको अन्त्य गरिसकेका छौं।

सामन्तवादको अन्त्य गर्ने बाटोका बारेमा पूर्वएमाले र पूर्वमाओवादीमा बहस थियो। अब त्यो बहस छैन। हामीले एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद र माओवादीले मान्दै आएको २१ औं शताब्दीको जगमा टेकेर नयाँ कार्यदिशाको विकास गरेका छौं। अब कसैले बहुदलीय जनवाद वा २१ औं शताब्दीको जनवादका पक्षमा बहस गर्छ भने त्यो हाम्रो पार्टीको कार्यदिशा होइन, त्यो च्याप्टर क्लोज भइसक्यो।

मन्त्री अर्यालले समाजवादको जग बसाल्ने आर्थिक राजनीतिक कार्यक्रममा क्रियाशील हुन सबैलाई अपील गरिन्। उनले भनिन्, हामीले समाजवादउन्मुख जनताको जनवादको कार्यदिशा पारित गरेका छौं। अबको हाम्रो लक्ष्य समाजवादी क्रान्तिको तयारी हो। हामी सबै त्यसका लागि समर्पित गरौं। पार्टीलाई पनि त्यहीअनुसार परिचालन गरौं।

मन्त्री अर्यालले विदेशबाट पैसा ल्याएर मात्र देशको विकास हुन नसक्ने बताइन्। उनले भनिन्, सधैं विदेशी रकमको भर परेर देशको विकास हुन सक्दैन। हामी आफैले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्छ। प्रधानमन्त्रीले समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना गर्नुभएको छ। यो सानो कुरा होइन, दीर्घकालीन लक्ष्य हो। यसलाई हामीले समाजवादको लक्ष्यसँग जोडेर कार्यान्वयन गर्छौं।