गायिका आस्था राउतलाई दीपकको यस्तो पत्र 

Astha_Dipak
लाेकपाटी न्यूज

काठमाडौं। गायिका आस्था राउत त्रिभुवन विमानस्थलमा प्रहरीलाई गरेको व्यवहार र फेसबुक लाइभमार्फत् बोलेको अपाच्य शब्दका कारण विवादित बनिरहेकी छन्। उनको व्यवहारलाई लिएर प्रशंसक तथा कलाकाहरूले पनि आलोचना गरिरहेका छन्।

कलाकार दीपकराज गिरीले आस्थालाई प्रहरी जवानसँग माफी माग्न सुझाव दिएका छन्। उनले एक भावुक स्टाटस लेख्दै नेपालमा सेलिब्रेटी नै अन्यायमा पर्दा पनि कलाकारकै गल्ती देखिने संस्कृति रहेको बताए। दीपक आफैं पनि मापसेका कारण एक समय विवदामा तानिएका थिए।

त्यतिबेलाको कुरा सम्झँदै उनले आस्थालाई लेखेका छन्, ‘मापसे काण्डमा म पनि परेँ। गल्ती मेरै थियो। तर जब म प्रहरीको पञ्जामा परेँ। ममाथि भएको दुर्व्यवहार डर लाग्दो नै थियो तर मेरो कुरालाई कसैले गम्भीरतापूर्वक नै लिएनन्। यसबारे हामीले नै होसियार हुनुपर्ने रहेछ।

भिडमा प्रहरीहरू प्रेसरमा हुने भएकाले उनीहरूको रुखो व्यवहारलाई स्वभाविक लिन दीपकले आस्थालाई सुझाव दिएका छन्।

यस्तो छ आस्थालाई दीपकको पत्र 

प्रिय आस्था बहिनी!

यो बिषयमा लेख्न मन थिएन तर तिमीले निरन्तर गाली खाएको देखेर किन किन लेख्न मन लाग्यो।  म पनि विगतमा यस्ता धेरै घटनाहरूबाट गुज्रेको छु। यस्तै प्रकारका घटनाहरूबाट पाठ पनि सिकेको छु।

समस्या कहाँबाट आयो भने तिमीले भिडको सामना गर्दै प्रहरीलाई चेक गराउँदै अघि बढ्नुपर्थ्यो। भिड र संवेदनशील क्षेत्रमा काम गर्ने प्रहरी जवानहरूलाई छुट्टै प्रेसर हुन्छ। उनीहरूलाई छुट्टै दबाब हुन्छ। उनीहरू १० घन्टे लामो ड्यूटीमा हुन्छन्, सानो गल्ती भए ज़ागिरै संकटमा पर्छ। त्यस्तो बेला उनीहरूबाट अलि रूखो व्यवहार निस्किन्छ पनि। त्यहाँ पनि निस्कियो होला।

तर हामी कलाकार वा सेलेब्रिटिज़को गल्ती नै नभए पनि समाचार बाहिर आएपछि गल्ती हाम्रै देखिने रहेछ। सेलेब्रिटिज़ भनेको सेतो कपडा रहेछ अरू रङमा दाग नदेखिए पनि सेतोमा सानो दाग पनि देखिहालिन्छ। अत: सहनुपर्ने हामीले नै रहेछ। विदेशमा प्राय: यस्तो घटना  हुँदैन किनकि त्यहाँ नेतामात्रै भिआइपी हुँदैनन्। धेरै कर तिर्ने व्यापारिहरू, नाम चलेका खेलाड़ी, कलाकारहरूलाई पनि भिआइपी मानिन्छ र सुविधाजनक ढंगले चेकजाँच हुन्छ र भिडको सामना गर्नु पर्दैन। यस्तो दुर्घटनाको सम्भावना कम हुन्छ तर यो देशमा नेता मात्रै भिआइपी हो।

यो संवेदनशीलतालाई हामीले बुझ्नुपर्छ किनकि हामी भिडबाट नै गुज्रिनु पर्छ। त्यस्तो अवस्थामा हामी सतर्क हुनैपर्छ।

मापसे काण्डमा म पनि परेँ। गल्ती मेरै थियो। तर जब म प्रहरीको पञ्जामा परेँ। ममाथि भएको दुर्व्यवहार डर लाग्दो नै थियो तर मेरो कुरालाई कसैले गम्भीरतापूर्वक नै लिएनन्। यसबारे हामीले नै होसियार हुनुपर्ने रहेछ। हामीलाई अन्याय नै भयो भने पनि ‘कलाकार हो फूर्ति देखायो होला फस्यो नि’ भनिँदो रहेछ। त्यसैले सकेसम्म यस्तो झमेलामा नपर्नु र परिहाले पनि माफ़ पाऊँ भनेर छट्किनु नै सबैभन्दा उत्तम रहेछ। तिमीलाई पनि त्यस्तै केही रूखो व्यवहार प्रयोग भयो होला। तर गल्ती तिम्रो  फ़ेसबुक लाइभले गर्‍यो। त्यसमा प्रयोग भएका शब्दले समस्या उत्पन्न गरायो।

तिमीलाइ केही नभई त्यस्तो भनिनौं होला। तर बाहिरबाट हेर्दा तिमी नै अमर्यादित देखियौ। अत: यो घटनालाई तिमीले हामी सबैले एउटा पाठको रूपमा लिनुपर्छ। जे हुन्छ राम्रैको लागि हुन्छ। आज कतिपय स्ट्याटसहरू ‘ कलाकार यस्तै घमण्डी हुन्छन्’ भनेर आउँछ दु:ख लाग्छ।

त्यसैले सत्य जे होस् त्यो प्रहरी जवान बहिनीसँग म माफी माग्छु। तिमी पनि माग। सेलिब्रेटी कल्चर हाम्रो देशमा छैन। हामी सामान्य नागरिक नै हौं। यो वास्तविकतालाई बुझौं।