ओली–प्रचण्डबीच भेटघाट, सभामूखमा जुट्ला त सहमति ?

Prachanda-Oli
लाेकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नयाँ सभामूख चयनका लागि छलफलमा जुटेका छन्। उनीहरुबीच अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल चलिरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए।

दुई अध्यक्षबीच सभामुख चयनका लागि दिनहुँजसो छलफल भइरहे पनि टुंगो लागिसकेको छैन। प्रतिनिधिसभाको बैठक भोलि (माघ ६) गतेका लागि बोलाइएको छ। सोमबारसम्म उपसभामूख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएर मार्गप्रशस्त गर्ने विश्वास नेकपा नेतृत्वमा छ। तर शिवमायाले हालसम्म राजीनामा दिएकी छैनन्।

पार्टीभित्रको पूर्व माओवादी खेमालाई सभामूख पद दिन प्रधानमन्त्री ओली लचक बनेको समाचार बाहिर आएको थियो। नेपाली कांग्रेसले सभामूख चयनको विषयमा ढिलाइ गरेर संसदलाई बन्धक नबनाउन नेकपालाई चेतावनी दिएको छ। ओली र दाहालबीच आइतबार हुने छलफलले सभामुखबारे निकास निकाल्ने अनुमान गरिएको छ।

तर उपसभामूख शिवमाया तुम्वाहाम्फेले आफूलाई नै सभामूख बनाउनुपर्ने अडान लिँदै राजीनामा दिन नमानेपछि अन्यौल सिर्जना भएको छ। सम्भवतः आजको बैठकले सभामूखको नाम टुंग्याउने स्रोतको दाबी छ। सभामूख चयनको विषयमा ओली र प्रचण्डबीच गएको बिहीबार र शुक्रबार पनि छलफल भएको थियो।

सभामुखमा पूर्व एमालेबाट पूर्वसभामुख सुवास नेम्बाङ दाबेदार छन्। वर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पनि सभामुखमा दाबी गर्दै आएकी छन्। पूर्व माओवादी खेमाबाट अग्नी सापकोटा, पम्फा भुसाल, हरिबोल गजुरेल लगायतको नाम पनि चर्चामा छ।