नेकपाद्वारा सचिवालय बैठक आव्हान

nekapa sachiwalaye meeting pic
फाइल तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ। सभामूखको उम्मेदवार तय गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आइतबार अपरान्ह चार बजे सचिवालय बैठक बोलाएको हो।

महासचिव विष्णु पौडेलले आइतबार बिहान दुई अध्यक्षबीचको छलफलपछि अपरान्ह चार बजेलाई सचिवालय बैठक बोलाइएको जानकारी दिए। ‘समसामयीक विषयमा छलफल र निर्णय गर्न सचिवालय बैठक बोलाइएको हो,’ महासचिव पौडेलले बताए। नेकपामा सभामूखको उम्मेदवार कसलाई बनाउने भन्ने विवाद छ।

यो विवाद चर्कदै गएपछि गत प्रतिनिधि सभाको बैठक लगातार स्थगित हुँदै आएको छ। पुस ४ गतेबाट सुरु भएको प्रतिनिधि सभाको बैठक पुस ११, १६ र २७ गते सूचना टाँस गरेर स्थगित भएको थियो । अर्को बैठक पुस ६ गतेलाई बोलाइएको छ।

गत पुस २७ गते नेकपाका दुई अध्यक्षबीच भएको छलफल अनुसार माघ ६ को बैठक बस्नुअघि सभामूखमा सहमति जुटाउने र माघ ६ को बैठकमा सभामूखको निर्वाचन प्रकृया सुरु गर्नेबारे कुराकानी भएको थियो । तर यो बीचमा अध्यक्षद्वयबीच पूर्व एमाले वा पूर्वमाओवादी कुन समूहको सभामूख उम्मेदवार बन्ने भन्नेमा ओली र प्रचण्डबीच सहमति जुट्न सकेको थिएन ।

यही विषयमा कुरा नमिल्दा दुई अध्यक्षबीच केही दिन सम्बाद नै रोकिन पुगेको थियो। केही दिनको संवादहिनतापछि गत बिहीबारबाट दुवै अध्यक्ष पुन छलफलमा जुटेका थिए। सभामूखका लागि अध्यक्ष ओलीले सुवास नेम्वाङ र अर्का अध्यक्ष अग्नि सापकोटा सभामूखको उम्मेदवारका रुपमा अघि सारेका छन्। आज बस्ने सचिवालय बैठकमा नेम्वाङ र सापकोटामा सहमति नभए तेस्रो व्यक्ति सभामूखको उम्मेदवार बनाउने गरी निर्णय हुनसक्ने बताइएको छ।