सभामूखमा सापकोटालाई पठाउने निर्णय

Agni sapkota
लाेकपाटी न्यूज

काठमाडौं। सभामूखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने विषयमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति जुटेको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयबीच भएको छलफलबाट सापकोटाको नाममा सहमति जुटाएको स्रोतले जनाएको हो।

प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच छलफलपछि अपराह्न ४ बजे सचिवालय बैठक डाकिएको हो। सचिवलय बैठकबाट सभामूखमा सापकोटाको नाम अनुमोदन गरिने स्रोतको दाबी छ।

गत शनिबार बसेको नेकपा सचिवालय बैठकले उपसभामूख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन निर्देशन दिइएको थियो। तर, उपसभामुख तुम्बाहाङ्फेले सभामुखको उम्मेदवार चयन नहुँदासम्म राजीनामा नदिने अडान लिएकी थिइन्।

सभामुखको विषयमा गत आइतबारपछि बिहीवार र शुक्रवार अध्यक्षबीच छलफल भएको थियो। सभामुख उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा नेकपाभित्र किचलो देखिएको थियो। प्रधानमन्त्रीले पूर्व सभामूख सुवास नेम्वाङ र प्रचण्डले स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामूखको उम्मेद्वारका रुपमा अघि सारेका थिए।

यौन दुर्व्यवहारको आरोप लागेपछि तत्कालीन सभामूख कृष्णबहादुर महराले असोज १४ मा राजीनामा दिएपछि सो पद रिक्त छ। सभामूखको टुंगो नलाग्दा संसद बैठक पटक पटक सर्दै आएको छ। अब सोमबारका लागि संसदको बैठक बोलाइएको छ।