काठमाडौं। नेपाल आयल निगमको ५०औँ वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ।
आयल निगमले स्वर्णजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको रक्तदान कार्यक्रममा ११३ जनाले रक्तदान गरेको रक्तदान समितिका संयोजक विकास बखतीले जानकारी दिए।
कार्यक्रममा निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले रक्तदान जीवनदान भएको बताउँदै यस कार्यलाई मानवजीवनका लागि अत्यन्तै मानवीय, परोपकारी तथा सकारात्मक रूपमा लिनुपर्ने बताए।
सोही अवसरमा कार्यकारी निर्देशक पौडेलले नेपालमै सबैभन्दा धेरैपटक रक्तदान गर्ने रक्तदाता प्रेमसागर कर्माचार्य र समाजसेवी वीरसिंह कङ्साकारलाई सम्मान गरेका थिए। कर्माचार्यले यसभन्दा पहिला १६० पटक रक्तदान गरेका थिए। आयल निगमको ५०औँ वार्षिकोत्सव आगामी शनिबार हुँदैछ।