मेराे भनाइ बङ्गाइयाे, एमसीसीकाे पक्षमा छैन : नारायणकाजी श्रेष्ठ

Narayankaji
लाेकपाटी न्यूज

काठमाडौं, ५ माघ। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग विकास र सहयोग सम्बन्धी नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसि) का बारेमा पत्रकारहरुले आफ्नो भनाईलाई बङग्याएर प्रचार गरेको बताएका छन् । राष्ट्रिय सभाको चुनावी प्रचारका क्रममा बाग्लुङ पुगेका श्रेष्ठले आइतबार बिहान प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमसिसिका विषयमा अहिले दुबै तर्कमा अतिवाद रहेको भन्दै आफ्नो भनाइलाई नबंग्याईदिन पत्रकारलाई आग्रह गरे।

उनले आफूले कुनै पनि विषयको राष्ट्रिय हितमा निर्णय लिनुपर्छ भनेर बोलेको भएपनि एमसिसिलाई राष्ट्रिय हितमा कार्यान्वयन गर्नुपर्छ भनेर जसरी प्रचार गरिएको छ त्यसमा आपत्ति जनाएका हुन्। ‘मैले बोलेको एउटा कुरा हो, तर प्रचार भईदियो अर्काे,’ श्रेष्ठले भने,‘एम्सिसिका विषयमा स्थायी समिति बैठकमा पर्याप्त छलफल भएको छ।

यस विषयमा निर्णय लिने जिम्मा स्थायी समितिले सचिवालयलाई दिएको छ। सचिवालयमा यही एजेण्डामा प्रवेश गरेर हामीले कुनै निर्णय गरेका छैनौं, छलफल गरेका पनि छैनौं । मैले हिजो कुनै पनि कुराको राष्ट्रिय हितमा निर्णय लिनुपर्छ भनेर बोलेको हो। तर त्यसैलाई राष्ट्रिय हितमा कार्यान्वयन गर्नुपर्छ भनेको होइन ।

पत्रकार साथीहरुले लेख्दा अलिक फरक ढंगले प्रस्तुत गर्नुभए जस्तो लाग्यो। यसमा विचार पुर्‍याईदिनुहोला ।’ श्रेष्ठले एमसिसि स्वीकार गरे अहिले नै अमेरिकी सेना आउँछ भने जसरी प्रचार भईरहेकोमा खण्डन गरे । उनले भने ‘यो विषयलाई बुझने विषयमा दुई थरीबाटै अतिवादी सोच छ। अहिले नै अमेरिकी सेना आउने जसरी अतिवादी कोणबाट कुरा आइरहेको छ, यस्तो होइन, यो नेपालको हितमा छ, छैन हेरिन्छ, नेपालको हितका लागि मात्र निर्णय हुन्छ ।’

उनले सभामूख चयन प्रक्रिया भोलिको संसद बैठकवाट अगाडी बढ्ने पनि बताए । उनले भने, ‘पार्टीमा अब पूर्व एमाले र पूर्व माओवादी भन्ने छैन। अब त्यो पार्टीको इतिहास लेख्दा मात्र हुन्छ। सांगठनिक एकताका क्रममा मात्र अब त्यो हुन्छ , अन्यमा त्यो भागवण्डा भन्ने हुदैन ।’ आफूले यही कार्यकाल रहेको प्रतिनिधीसभामा मात्र उम्मेदवार नबन्ने बताएको तर राष्ट्रिय सभामा जान्न भनेर कही कतै नभनेको पनि श्रेष्ठले बताए।