काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अग्निप्रसाद सापकोटालाई सभामूखको उम्मेदवार बनाउन सहमत भएका छन्। आज अपराह्न ४ बजे बस्ने नेकपा सचिवालय बैठकबाट सभामूखमा सापकोटाको नाम अनुमोदन गर्ने तयारी छ।
माघ ६ गतेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ। संसद्को सो बैठकको सम्भावित कार्यसूचीमा सभामूख चयनको विषय पनि छ। नेकपाले सभामूखको विषय टुंगो नलगाउँदा ३ पटक संसद बैठक सूचना टाँसेर स्थगन भइसकेको छ।
को हुन् सापकोटा
सिन्धुपाल्चोक जिल्ला चौतारा ६ कुविण्डे टोलमा ०१४ साल फागुन २४ गते अग्नि सापकोटाको जन्म भएको हो। धनपति सापकोटा र तिलमाया सापकोटाका छोरा अग्निका ३ छोरा छन्।
साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट संविधानसभामा दुई पटक भारी मतान्तरले विजयी सापकोटा पछिल्लो ०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी भए। ०३५ सालबाट राजनीतिमा सक्रिय सापकोटाले पटक–पटक गरी २ वर्ष जेल जीवन बिताएका छन्।
०४८ सालमा संयुक्त जनमोर्चाकातर्फबाट प्रतिनिधिसभा निर्वाचनमा उमेदवार बनेका उनी पराजित भएका थिए। ०५१ सालमा पार्टी केन्द्रीय सदस्य बनेका सापकोटा माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोली सदस्य समेत थिए।
सापकोटाले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्। साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयमा १५ वर्ष प्राध्यापन गर्दा उनी शिक्षक राजनीतिमै सक्रिय थिए।
प्रधानाध्यापक छोडेर उनी पूर्णकालीन राजनीतिमा होमिएका थिए। ०५२ सालबाट भूमिगत भएका उनी माओवादी शान्तिप्रक्रियामा नआउँदा सम्म भूमिगत नै थिए। सापकोटा २ पटक मन्त्री भइसकेका छन्। सूचना तथा सञ्चार र वन मन्त्रालयको जिम्मेवारी उनले सम्हालिसकेका छन्।