काठमाडौं, ५ माघ । नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन्। उनले आइतबार पर्यटनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन्। झापाका खरेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा ३१ भदौ २०७५ मा मन्त्रिपरिषद् बैठकबाट निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको थियो।
जतिबेला महाप्रवन्धक सुगतरत्न कंशाकार कार्यकारी भूमिकामा थिए। तर एक वर्षसम्म प्रभावकारी काम गर्न नसकेपनि उनीमाथि प्रश्न उठ्न थालेको थियो। त्यसक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले दिएको लक्ष्यअनुसार काम गर्न, नसके पद छाड्न भनेका थिए।
नियुक्ति गर्दा खरेललाई वायुसेवा निगमले भित्राएका दुई वाइडबडीसहित सबै जहाजको पूर्ण क्षमतामा सञ्चालन गर्ने, व्यवसायिक योजना बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्ने जिम्मेवारी दिएको थियो।निगम सुधारका लागि रणनीतिक साझेदार भित्र्याउने प्रक्रियाका लागि आधारभूत काम गर्नपर्ने जिम्मेवारीसमेत उनलाई थियो।