सहकारीका सात अन्तर्राष्ट्रिय सिद्धान्त के–के हुन् ?

sahakari-Cooprative
लाेकपाटी न्यूज

काठमाडौं। सहकारी संस्थाहरु स्वावलम्बन, स्व–उत्तरदायी, प्रजातान्त्रिक, समानता न्याय र ऐक्यवद्धताका मूल्यहरुमा आधारित छन्। आफ्ना संस्थापकहरुको परम्परामा सहकारी संस्थाका सदस्यहरुले इमान्दारिता, खुलापन, सामाजिक दायित्व र अरुको चासो राख्ने नैतिक मूल्यहरुमा विश्वास राख्दछन्।

सहकारीका मूल्य मान्यताहरुलाई कार्यरुपमा उतार्न यसका सिद्धान्तहरुले मार्गदर्शन गरिरहेका छन्। यिनै सिद्धान्तका आधारमा संसारभरका सहकारी संस्थाहरु निर्देशित हुन्छन्। ती सात सिद्धान्तहरु यस प्रकार रहेका छन्।

(१) स्वेच्छिक तथा खुला सदस्यता – सहकारी संस्था एक स्वेच्छिक संगठन भएकोले यसको यसको सदस्यता पनि स्वेच्छिक हुन्छ। जुनसुकै जाति, धर्म र भेषभुषाका मानिसहरुले सहकारीको सदस्यता लिन र आफूलाई मन नपरेमा सदस्यता त्याग्न सक्छन्। संस्थाको सेवा उपभोग गर्न र जिम्मेवारी वहन गर्न इच्छुक जोसुकै व्यक्तिहरुले विना भेदभाव सदस्यता प्राप्त गर्न सक्दछन्। यसको सदस्यता सदैव खुल्ला हुन्छ।

(२) सदस्यद्धारा प्रजातान्त्रिक नियन्त्रण – यस सिद्धान्तअनुसार सहकारी संस्थाहरुमा सदस्यहरुद्धारा सदस्यकै लागि प्रजातान्त्रिक नियन्त्रण पद्धति अपनाइन्छ। सदस्यहरुमध्येबाटै प्रजातान्त्रिक पद्धतिद्धारा कार्य समिति तथा उपसमितिका सदस्यहरु बहुमत सदस्यको स्वीकृतिमा नीति नियम तय गरी लागू गरिन्छ। एकका लागि सबै र सबैका लागि एक’ भन्ने सिद्धान्त अन्तर्गत सञ्चालन हुने प्रारम्भिक सहकारी संस्थाहरुमा एक व्यक्ति एक मतको आधारमा समान मताधिकार हुन्छ।

(३) सदस्यको आर्थिक सहभागिता – यस सिद्धान्तअनुसार सहकारी संस्थामा सदस्यहरु आफ्नो लगानीको आधारमा न्यायिक रुपमा आर्थिक सहभागिता जनाउँछन्। संस्था नाफामा गएमा सदस्यहरुले नाफाको केही अंश संरक्षित पूँजीकोषको रुपमा सिमित बचत फिर्ता पाउँछन् र संस्थामा रहेको सम्पत्ति सबैको साझा हुन्छ। सहकारी संस्था सेवामूलक व्यवसाय भएकोले यसबाट आर्जित मुनाफालाई सदस्यहरुकै हित अर्थात् संस्थामा जगेडा कोष खडा गर्न, ऋण सुरक्षण कोष स्थापना गर्न, संस्थाको विकास गर्न, सदस्यहरुलाई राहत दिन र सदस्यहरुद्धारा स्वीकृत विभिन्न कार्यक्रमहरुमा खर्च गर्ने ब्यवस्था गरिन्छ।

(४) स्वायत्तता र आत्मनिर्भरता – सहकारी संस्था एक स्वायत्त निकाय भएकोले प्रचलित सहकारी ऐन, नियम तथा कानुनसँग नबाझिने गरी यसको सञ्चालन, सम्वद्र्धन गर्न आफ्नो नीति तथा कार्यक्रम आफै बनाउन र लागू गर्न सक्छ। यो एक आत्मनिर्भर संस्था भएको कारण पूँजी संकलन तथा लगानी गर्दा पारदर्शी तथा न्यूनतम आर्जनदर कायम गरी आत्मनिर्भर बन्न सक्दछ।

(५) शिक्षा, तालिम र सूचना – सहकारी संस्था प्रभावकारी रुपमा सञ्चालन गर्न र आफ्ना सदस्यहरुलाई सुसूचित गराउन विभिन्न खालका शिक्षा तथा तालिम कार्यक्रमको आयोजना गरी संस्थाका पदाधिकारी एवं सदस्यहरुलाई संस्था सञ्चालन गर्न योग्य बनाउछ। सहकारीको सञ्चालन, लाभ तथा विकासको बारेमा सदस्यहरुलाई सूचना प्रदान गरी चेतना जगाउने कार्य गर्दछन्।

(६) सहकारी संस्थाहरुका बीच सहयोग – यस सिद्धान्तबमोजिम सहकारी संस्थाहरु वीच आपसमा सहयोगहरु आदान प्रदान गरी स्वस्थ प्रतिस्पर्धात्मक वातावरणमा सञ्चालन हुन्छन्। विभिन्न अन्तरक्रिया कार्यक्रमहरु, सामाजिक उन्नतीका साझा कार्यक्रमहरु आयोजना गरी आफ्ना सदस्यहरु र स्थानिय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय संरचनामा सहभागि भई सहकारी आन्दोलनलाई मुर्त रुप दिन योगदान पुर्याउँछन्।

(७) समुदायप्रति चासो – यस सिद्धान्तबमोजिम सहकारी संस्थाहरुले आफ्नो समुदायप्रति पूर्ण चासो राख्दछन्। समुदायका सदस्यहरु सम्मिलित भई समुदायकै सदस्यको हितका निमित्त सञ्चालित संस्था भएकोले समाजको विकास, विस्तार र चेतना अभिवृद्धि आदि कार्यहरुमा सहभागी भई समुदायको दीगो विकास गर्न लागि पर्दछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्