बुटवल। नेपाली कांग्रेस प्रदेश ५ संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ। क्यान्सरका कारण थलिएका ८२ वर्षीय पोखरेलको सोमबार रुपन्देही तिलोत्तमा १४ खैरियास्थित निवासमा निधन भएको हो।
कांग्रेसका पूराना नेता पोखरेल कांग्रेको सिफारिशमा समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य बनेका थिए। प्रदेश सभाकै जेष्ठ सदस्य शर्माले प्रदेश सभाका सदस्यहरुलाई जेष्ठ सदस्यको हैसियतमा सपथ ग्रहण गराएका थिए। शर्माले संस्कृत साहित्यमा मध्यमा गरेका थिए।
विक्रम संवत् १९९४ माघ १९ गते प्युठानको तुसारामा जन्मिएका पोखरेल २०२० सालमा बसाइसराई गरी रुपन्देही झरेका थिए। उनले २०१३ सालदेखि नेपाल छात्र संघबाट कांग्रेसको राजनीति शुरू गरेको भाइ ईश्वरचन्द्र पोखरेलले बताए।
रूपन्देहीमा उनी २०२६ सालदेखि १० वर्ष (२०३६ सम्म) पार्टीको जिल्ला सचिव भए भने जिल्ला सदस्य हुँदै आमन्त्रित केन्द्रीय सदस्य, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि हुँदै वरिष्ठ नेताको रुपमा निरन्तर पार्टीमा सक्रिय भए। उनका एक श्रीमती, ४ छोरा र २ छोरी छन्।