तिलोत्तमा। शून्य खुला पोलिथिन अभियानलाई सफल बनाउन जथाभाबी फोहोर फ्याँक्नेलाई दण्ड–जरिवाना गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी पूरा गर्दा यो अभियानले साकाररूप लिने भन्दै सरोकारवालाहरूले अभियानसँगै जथाभाबी फोहोर फ्याँक्नेलाई जरिवाना तिराउने संयन्त्र निर्माण गर्न तिलोत्तमा नगरपालिकालाई सुझाव दिएका छन्।
तिलोत्तमा मिडिया क्लबको सोमबार मणिग्राममा आयोजनामा गरेको शून्य खुला पोलिथिन अभियानमा सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले जानकारी हुँदाहुँदै फोहोर गर्नेलाई दण्ड–जरिवानाले मात्र व्यवहार परिवर्तन गराउने बताएका हुन्।
कार्यक्रममा बोल्दै शंकरनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरि तिवारीले अटेर गरी जथाभाबी फोहोर फ्याँक्नेलाई जरिवाना तिराउने संयन्त्र निर्माण गर्न नगरपालिकालाई आग्रह गरे। नगरपालिकाले सञ्चालन गरेको शून्य खुला पोलिथिन अभियान अत्यन्त सान्दर्भिक रहेको चर्चा गर्दै उनले यो मानिसको व्यवहार परिवर्तनसँग सम्बन्धित रहेको उल्लेख गरे।
यस्तै आनन्दवन–शंकरनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष केशवराज न्यौपानेले खुला दिसामुक्त अभियान जस्तै शून्य खुला पोलिथिन अभियान पनि सफल हुने बताए। जथाभाबी फोहोर फ्याँक्नेलाई टोल विकास संस्थामार्फत जरिवाना तिराउने व्यवस्था मिलाउन सकिने उनको भनाइ छ।
छत्तिस मौंजा सामुदायिक सिँचाई प्रणालीका अध्यक्ष कृष्णप्रसाद पौडेलले नगरपालिकाले सञ्चालन गरेको अभियानबाट किसानहरू सबैभन्दा बढी हर्षित भएको बताए। उनले अभियानलाई सफल बनाउन सिँचाई प्रणालीले नहर तथा शाखा कुलाहरूमा रहेको पोलिथिन जन्य फोहोर उठाउन विशेष कार्यक्रम सञ्चालन गर्न थालेको जानकारी दिए।
वास सहकारीका अध्यक्ष खेमप्रसाद गौतमले पोलिथिन जन्य फोहोरलाई नजलाउन नगरवासीलाई आग्रह गर्दै फोहोर व्यवस्थापनमा सहकारीले कार्यक्षेत्र बढाउँदै लैजाने बताए। तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेले नगरपालिकाले सम्पूर्ण रूपमा प्लाष्टिकजन्य सामानको प्रयोगमा निषेध नगरेको स्पष्ट पार्दै पोलिथिन जन्य फोहोरलाई उचित व्यवस्थापन गर्न खोजेको बताए। शून्य खुला पोलिथिन अभियानमा नगरवासीले देखाएको सक्रियताप्रति आभार व्यक्त गर्दै उनले यो माटो बचाउने अभियान पनि रहेको स्पष्ट पारे।
यस्तै उप–प्रमुख जगेश्वरदेवी चौधरीले नगरवासीको आनीबानी र सोच परिवर्तनले शून्य खुला पोलिथिन अभियान सफल बनाउने बताइन्। अभियन्ता निपेश ढाकाले अभियानमा नगरवासीले देखाएको उत्साहले आफूहरूलाई निकै प्रेरणा मिलेको बताए। नगरलाई सफा बनाउन नेपाल भ्रमण वर्ष–२०२० को प्रारम्भसँगै तिलोत्तमा नगरपालिकाले सिम नेपालको सहकार्यमा सुरु गरेको अभियान तीव्र रूपमा अघि बढेको छ। अभियानमा टोल विकास संस्था, विभिन्न सङ्घ–संस्था, क्लब, आमा समूह, खानेपानी संस्थालगायत सबैको सहकार्य छ।