काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमूख प्रतिपक्षी दल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ। प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको छ। मंगलबार बिहान प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच भेटवार्ता भएको हो।
भेटवार्तामा उपसभामूख निर्वाचनका विषयमा कुरा भएको पौडेल निकट एक नेताले जाकाकारी दिए। ‘रामचन्द्र पौडेल र प्रचण्डबीच भेट भएको छ। पौडेलले उपसभामूख कांग्रेसलाई दिन प्रचण्डसँग प्रस्ताव गर्नुभयो,’ ती नेताले भने। भर्खरै सम्पन्न कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले सभामूखमा कांग्रेस उम्मेदवारी नदिने निर्णय गरेको छ। उपसभामूख भने कांग्रेसले दाबी गरेको छ।
सभामूखमा नेकपाका केन्द्रीय सदस्य अग्नी सापकोटाले उम्मेदवारी दर्ता गराइसकेका छन्। सभामूखको निर्वाचन पछिमात्र उपसभामूखको निर्वाचन अघि बढाइने बताइएको छ। उपसभामूख कांग्रेसलाई दिन नेकपा पनि सकारात्मक बनेको नेकपा सचिवालयका एक सदस्यले समेत बताएका छन्।
ती नेताले भनेका छन्, ‘उपभामुखको विषयमा हामीले छलफल गरेका छैनौं। कांग्रेसलाई उपसभामूख दिने, नदिने विषमा हामी छलफल गर्छौ।’ कांग्रेसले सभामूखको उम्मेदवार बनाउने भनेर चर्चामा ल्याएको संसदीय दलकी सचेतक पुष्पा भुषाललाई अब उपसभामूखको उम्मेदवार बनाउने कांग्रेस स्रोतको भनाइ छ।
संविधानमा प्रतिनिधि सभाको सभामूख र उपसभामूख फरक पार्टी र फरक लिङ्गको हुन पर्ने प्रावधान छ। राष्ट्रिय जनता पार्टी (राजपा) ले पनि उपसभामुख दावी गरेको छ। नेकपाको सभामुख उम्मेदवारलाई सघाउने निर्णय गरेको राजपाले ९ माघमा हुने राष्ट्रियसभा निर्वाचका लागि पनि नेकपासँग तालमेल गरेको छ।
यो सहमति अगाडि बढे राजपालाई सरकारमा ल्याउने तयारी नेकपाले गरेको छ। उपसभामूख राजपालाई दिएर सरकारमा ल्याउने तयारी पनि रहेको नेकपा स्रोतको भनाइ छ।