उपसभामूखका लागि नेकपाको प्रस्ताव पर्खिरहेका छौँः राजेन्द्र महतो

Rajendra-Mahato
लाेकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा) ले उपसभामूखमा दावी गरेको छ। राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नेकपासँग राष्ट्रियसभामा गठबन्धन गरेको र सभामूखमा पनि समर्थन गरेको कारण उपसभामूख पाउनुपर्ने बताए।

‘सभामुख नेकपाको बन्ने भएपछि अन्य दलबाट उपसभामुख हुन्छ’, महतोले भने, ‘राष्ट्रियसभाको चुनावका लागि नेकपा र हामीबीच गठबन्धन रहेको छ र सभामुखमा हामीले नेकपालाई समर्थन गरेका छौँ। त्यसैले उपसभामुख पदमा हामीले पाउनुपर्छ। हामी नेकपाको प्रस्तावको प्रतीक्षामा छौं।’

महतोले यस विषयमा नेकपाका नेताहरुसँग पटक पटक अनौपचारिक रुपमा कुराकानी भइरहेको बताए। ‘अनौचापरिक भएर भएन। यस विषयमा औपचारिक प्रस्ताव नेकपाबाट आउनुपर्छ’, उनले भने। संविधानमा प्रतिनिधि सभाको सभामूख र उपसभामूख फरक पार्टी र फरक लिङ्गको हुन पर्ने प्रावधान छ।

प्रतिनिधिसभाको रिक्त सभामूखमा नेकपाले उम्मेदवारी दिने निर्णय गरेपछि उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई फिर्ता बोलाएको थियो। उपसभामुख शिवमाय तुम्बाहाङफेले सोमबार पदबाट राजीनामा दिएपछि उपसभामूख रिक्त रहेको छ।

नेकपाले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाएको छ भने कांग्रेसले नेकपाको स्पष्ट बहुमत रहेको र सभामूख तटस्थ पद भएका कारण उम्मेदवारी नदिने निर्णय गरेको छ। उपसभामूखमा कांग्रेसले समेत अपेक्षा राखेको छ। नेपाल खबरबाट