काठमाडौं, ९ माघ। सातवटै प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचन जारी छ। यही फागुन २१ गतेबाट रिक्त हुन् लागेका राष्ट्रियसभाका १८ सिटका लागि अहिले देशका सातवटटै प्रदेशमा मतदान भइरहेको छ।
मतदानस्थल तोकिएका सातै प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगका प्रवक्ता सह–सचिव राजकुमार श्रेष्ठले जानकारी दिए। ५३ हजार ५ सय ८ मतभार रहेको निर्वाचनको चुनावी मैदानमा ६ दलका ४५ उम्मेदवार छन्। निर्वाचन आयोगले प्रदेश १ का लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृहलाई मतदानस्थल तोकेको छ। प्रदेश २ को जनकपुर उपमहानगरपालिकास्थित महेन्द्र नारायण स्मृति भवनलाई मतदानस्थल तोकिएको छ।
ललितपुर महानगरपालिका ४ स्थित वडा समिति भवनलाई वागमती प्रदेशको मतदानस्थल बनाइएको छ। गण्डकी प्रदेशको मतदानस्थल तोकिएको पोखरा महानगरपालिकामा अवस्थित निर्वाचन कार्यालय, प्रदेश ५ को घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशको मतदानस्थल तोकिएको जिल्ला निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिमका लागि दिपायलस्थित पद्य पब्लिक मुक्तिनारायण उच्च माविमा पनि राष्ट्रियसभा सदस्यका लागि निर्वाचन भइरहेको छ। बिहान १० बजेदेखि सुरु भएको मतदान सातवटै प्रदेशमा शान्तिपूर्ण रूपमा भइरहेको छ। मतदान अपराह्न ४ बजेसम्म चल्ने निर्वाचन आयोगले जानकारी दिएको छ।