काठमाडौं, ९ माघ। शिशु कसरी जन्माउने ? प्राकृतिक (नर्मल) अथवा शल्यक्रिया (अपरेसन) मार्फत्। यी विधि गर्भवतीको रोजाइले भन्दा श्रीमान्, घरपरिवार र स्वास्थ्यकर्मीको निर्णयले नेपालमा प्राथमिकता पाइरहेको छ। स्वास्थ्य संस्था अथवा घरमा सुत्केरी व्यथाले छट्पटाइरहेकी श्रीमतीको दुःखको साक्षी प्रायः श्रीमान् हुँदैनन्।
उनको साथमा आमा, सासू, दिदीबहिनी अन्य महिला नै हुने गर्दछन्। सुत्केरी हुने अवस्थामा श्रीमान् अनिवार्य हुनुपर्ने प्रावधान विकसित देशमा रहेको बताइन्छ। कतिपय देशमा श्रीमानको अनुमतिबिना चिकित्सकले गर्भवती जाँचसमेत गर्दैनन्। श्रीमानलाई साथमा राखेर सेवा दिन्छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित जुम्ला अस्पतालले गर्भवतीले आफूले चाहेको विधिमा सुत्केरी हुन पाउने र विशेषगरी सुत्केरी हुन लागेको अवस्थामा श्रीमान् अथवा घरपरिवार अनिवार्य साथमा रहनुपर्ने अभ्यासलाई प्रयोगमा ल्याउने तयारी थाल्दै छ।
प्रसूति तथा स्त्रीरोगसम्बन्धी केन्द्रीय अस्पताल परोपकार प्रसूतिगृह थापाथलीले सो अभ्यासलाई हालसम्म व्यवहारमा ल्याउन सकेको छैन। सुत्केरी हुन् लागेको अवस्थामा रहेकी महिलाका साथमा स्वास्थ्यकर्मी मात्र रहन्छन्। पुरुषलाई निषेध छ। परिवारका आफन्तले सुत्केरीलाई मुश्किलले भेट्न पाउँछन्। प्रतिष्ठानका नर्सिङ डिन सरस्वती गौतमले प्राकृतिक रूपमा सहज सुत्केरी गराउन जुम्ला अस्पतालले छुट्टै बर्थिङ सेन्टर (सुत्केरी केन्द्र) स्थापना गर्न लागेको जानकारी दिइन्।
‘चिकित्सकले जटिल भनेर सिफारिस गरेका बाहेक’ अन्य गर्भवतीलाई प्राकृतिकरूपमा सुत्केरी गराउन मिडवाइफले सेवा दिने उनले जानकारी दिइन्। अस्पतालमा पछिल्लो समय शल्यक्रियामार्फत् सुत्केरी गराउन निरुत्साहित हुँदै आएको छ। ‘नर्मल विधिबाट डेलिभरी हुन पाउनु महिलाको अधिकार हो, शल्यक्रिया त जटिल अवस्थामा दोस्रो विकल्प हो। पहिलो विकल्प हुँदा हुँदै दोस्रोको प्रयोगलाई न्यूनीकरण गर्ने हाम्रो ध्येय हो’, उनले भनिन्, ‘सुत्केरी हुने अवस्थामा श्रीमान् अथवा घरपरिवार नजिक हुँदा आत्मबल उच्च हुन्छ। शिशु निकाल्न शक्ति उत्पन्न हुन्छ। यसैले सुत्केरी हुँदा नजिक परिवारको अनिवार्य खोजी गरिएको हो।’
सुत्केरी गराउन, आमा र नवजात शिशुको स्याहार तथा परिवार नियोजनका सेवा प्रदान गर्न मिडवाइफलाई उत्कृष्ट मानिन्छ। पछिल्लो समय प्राकृतिकभन्दा शल्यक्रियामार्फत् सुत्केरी गराउने सङ्ख्यामा वृद्धि भइराखेको जनाइएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नवजात शिशु, शिशु, पाँच वर्षमुनिका बालमृत्युदर तथा मातृमृत्युदर घटाउन मिडवाइफ जनशक्ति उत्पादनलाई उच्च प्राथमिकतामा राखेको छ। हाल चिकित्सा विज्ञान प्रतिष्ठान ९न्याम्स० बाट पहिलो समूहमा नौ मिडवाइफ जनशक्ति उत्पादन भएका छन्।
काठमाडौं विश्वविद्यालयले सो विषयमा अध्यापन सुरूआत गराएको छ। यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) ले ती दुई निकायलाई प्राविधिक सहयोग गरेको जनाइएको छ। आगामी वर्षदेखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ती विषयमा अध्यापन गराउने तयारी गर्दैछन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जुम्ला अस्पताल, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आवश्यक पर्ने मिडवाइफ जनशक्ति उत्पादन गर्न गत वर्षदेखि मिडवाइफमा तीन वर्षे स्नातक कार्यक्रम सञ्चालन ल्याएको थियो। रासस