काठमाडौं, ९ पुस। नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा सभामुखका उम्मेदवार अग्निप्रसाद सापकोटाले आफ्नो पक्षमा आएका टिप्पणीले आफूलाई अगाडि बढ्न सहयोग पुग्ने बताएका छन्। आफूविरुद्ध लक्षित गतिविधितर्फ संकेत गर्दै सापकोटाले आफू थप खारिएर निस्किने बताए।
सिन्धुपाल्चोकको चौतारा साँगाचोगढी नगरपालिका–२ स्थित कालिकादेवी माध्यमिक विद्यालयको वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले नकारात्मक टिप्पणीले आफूलाई सहयोग पुगेको बताएका हुन्। ‘मेरो सभामुखमा निश्चित भएपछि नकारात्मक टिप्पणी आएका छन्। सुन आगोमा हालेर तताउँदा हराउँदै पुनः खारिन्छ, झन् पहेँलो भएर निस्कन्छु’ उनले भने।
देशकै उच्च तहको नेतृत्व आफ्नो काँधमा आएको हुनाले आफूविरुद्ध धेरै नकारात्मक टिप्पणी गरेर हतोत्साहित गर्न खोजिएको आरोप लगाए। नेकपाको सरकारले परिवर्तन र गणतन्त्रको लागि लागिरहेको बताए। समृद्ध नेपाल, सुखी नेपालीको सरकारी अभियानलाई पूरा गर्न सरकार लागेको बताए। १२ गतेबाट भावनाको उचाइमा पुग्ने बताए। त्यही दिनबाट आफ्नो जीवनले नयाँ मोडमा पुग्ने अपेक्षासमेत गरे।
आफ्नो राजनीतिक इतिहासमा ३९ वर्षपछि उच्च तहमा पुगेको बताए। सभामुखको विषयमा यति धेरै चर्चा र सकस अहिलेसम्म नभएको बताए। आफूले कुनै पनि गल्ती नगरेको हुनाले डराउनुपर्ने अवस्था नरहेको जनाए। आशीर्वाद थाप्न भए पनि आफू सिन्धुपाल्चोक आएको उल्लेख गरे।
सिन्धुपाल्चोक जिल्लाले अहिलेसम्मकै ठूलो पदमा पुगेको जिकिर गरे। आफूले परिवारका लागि नसोचेर निरन्तर जनताको पक्षमा लागेको जिकिर गरे। जीवनका अन्तिम घडीसम्म सिन्धुपाल्चोकको जनताको इज्जतलाई मर्न नदिने प्रष्टाए।
नेकपाका नेता सापकोटाले सभामुखमा उम्मेदवारी दिएपछि उनी निर्विरोध भएका छन्। तर, सापकोटा निर्वाचित भएको घोषणा माघ १२ गते हुँदैछ। सापकोटालाई प्रमुख प्रतिपक्षी कांग्रेस लगायतका सबै दलको समर्थन भएको छ। सबै दलको समर्थन भएकाले आफूले जस्तोसुकै चुनौती छिचोल्ने सापकोटाले बताए।