दैलेख, ९ माघ। छाउपडी समस्याबाट ग्रसित कर्णाली प्रदेश र सुदूरपश्चिममा सरकारले छाउगोठ भत्काउने अभियानलाई तीब्र पारेको छ। अभियान नरिन्तर चलिरहेका बेलामा छाउगोठ भत्केपछि महिलाहरुलाई कस्तो समस्या छ भनेर समस्या बुझ्न अहिले महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ्ग, स्वास्थ्य राज्य मन्त्री नवराज रावत, मन्त्रालयका सहसचिवहरु सँगै प्रतिनिधि सभाका सदस्यहरुको टोली स्थालगत अध्ययनका क्रममा गाउँ गाउँमा पुगेको छ।
दिपायल हुँदै अछामको मंगलसेनमा बृहत छलफल गरेपछि मंगलवार मन्त्री गुरुङ्ग सहितको टोलीले दैलेखको दुल्लूमा बृहत छलफल सम्पन्न गरेको छ। दैलेखमा ३ सय बढी छाउगोठ भत्किएपछि कतिपय महिलाहरु छाउगोठ छोडेर पशुचौपाय बाँध्ने गोठमा जान थालेको भन्ने कुरा बाहिर आउन थालेपछि मनको छाउगोठ भत्काउने अभियानमा आफुसहितको टोली स्थलगत अध्ययनमा हिडेको मन्त्री पार्वत गुरुङ्गले बताए।
छाउगोठ कतिपय स्थानमा भत्किसकेका छन, अभियान जारी छ, यती हुँदा हुँदै पनि स्थानीय नागरिकहरु भित्र रहेको मनको छाउगोठ भत्काउन सरकारले चेतनामुलक कार्यक्रम सुरु गरेको र यो अभियानमा स्थानीय जनप्रतिनिधिहरु अग्रसर हुँदै मनको छाउगोठ भत्काउन जुट्नुपर्ने मन्त्री गुरुङ्गंले सुझाव दिए। मनको छाउगोठ भत्काउने अभियान सँगसँगै स्थानीय प्रशासनले कानूनी राज्यको पालना गर्ने विषयलाई जिल्ला प्रशासन र जिल्ला प्रहरीले महत्वका साथ लिन मन्त्री गुरुङ्गले निर्देशन दिए।
उनले केन्द्र सरकारले अभियान सुरु गरेको छ अब प्रदेश र स्थानीय सरकारले पनि अभियानकै रुपमा मनको छाउगोठ भत्काउन लाग्नुपर्ने बताए। छाउगोठ भत्केपछि जनताहरुले कसरी लिएका छन् यसको अध्ययन गरेका छौं, सरकारले आगामी दिनमा थप कस्ता कामहरु गरेमा छाउगोठ मुक्त गर्न सकिन्छ भन्ने बारेमा पनि यो अध्ययनले सजिलो भएको छ। सामाजिक कुरितिहरुको अन्त्यका लागि सरकारले चालेको कदम सँगै नयाँ कदम चाल्नका लागि प्रतिनिधिमुलक जिल्लाहरुको भ्रमण गरेको टोलिले दैलेखका जनप्रतिनिधि, सामाजिक कार्यकर्ता, अभियान्ताहरु सँग छलफल र बहस पनि गरेको छ ।
स्वास्थ्य राज्यमन्त्री नवराज रावतले कर्णाली र सुदुरपश्चिममा छाउगोठमा बसेकै कारण महिलाहरुले अकालमै ज्यान गुमाउनुपर्ने दर्दनाक अवस्थाको पूर्ण रुपमा अन्त्य गर्नका लागि मन्त्री सहितको टोली गाउँका अगुवा, बुद्धिजिवी, विद्यार्थी, महिलाहरु सँग छलफल गर्दै आएको बताए। यसको मुख्य दायित्व राजनीतिक दलहरु र निर्वा्चित जनप्रतिनिधिहरुसँग रहेकोले वडा वडामा अभियान थाल्नुपर्ने सुझाव रावतले दिए। छाउपडीको समस्या कर्णाली र सुदुरपश्चिममा मात्र हैन देशैभर रहेको छ ।
गोठमै गएर सुत्नुपर्ने र घर बाहिर गएर सुत्नुपर्ने बाध्यता सुदुरपश्चिम र कर्णालीमा धेरै देखियो यो मानवता विरोधी गतिविधिको पूर्ण रुपमा अन्त्य गर्न सरकार लागेको र केही हदसम्म सफल भएको रावतले बताए। देशैभर छाउपडीको समस्या छ। अहिल पनि स्तरअनुसार छाउ बार्ने प्रचलन देखिएको छ। गरीब, विपन्न र पिछडिएका समुदायमा रहेको पुरातनवादी सोच भत्काउँदै अभियान सफल पार्नु सवैको दायित्व रहेको रावतको भनाइ छ।
प्रतिनिधि सभाका सदस्य एवं नेकपा दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले दैलेख अवको ६ महिनाभित्र छाउगोठ मुक्त जिल्ला बनाउने अभियानमा लाग्ने बताए। निर्वा्चित जनप्रतिनिधिहरुलाई निर्देशन दिँदै हरेक जनप्रतिनिधिहरुले छाउगोठ मुक्त अभियानमा नलाग्नेहरुलाई आगामी दिनहरुमा पार्टीमा मुल्याँकन गरिने समेत उनले जानकारी दिए।