काठमाडौं, ९ माघ। दोस्रो बाग्मती प्रदेश स्तरिय खेलकुद प्रतियोगिता चैतमा हुने भएको छ। साताव्यापी सञ्चालन हुने खेल चैतको २१ गतेदेखि २८ गतेसम्म हुनेछ।
खेलकुद प्रतियोगिताको हेटौंडामा उद्घाटन भै चितवनमा समापन गरिने आयोजकले जनाएको छ। बाग्मती प्रदेशको १३ जिल्लाका २ हजार ६ सय खेलाडीले १ सय ७८ स्वर्णको लागि ८ बिधामा प्रतिस्पर्धा गर्न लागेको बाग्मती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिब सूर्यलाल भण्डारीले जानकारी दिए। खेलाडीहरुले फुटबल, भोलिबल, क्रिकेट, तेक्वान्दो, कराँते, बक्सिङ र एथ्लेटिक्स खेलमा भाग लिन पाउने छन्।
खेल हेटौंडा र चितवन गरी २ स्थानमा गराइने तय भएता पनि कुन खेल कहाँ गराइने पछि टुङ्गो लगाइने प्रदेश खेलकुद विकास परिषदका सदस्य विकास तामाङले बताए। चितवन र हेटौंडा दुबै ठाउँमा पौडी पोखरी नभएकाले पौडी खेललाई समावेश गर्न नसकिएको सदस्य तामाङले बताए।
उक्त प्रतियोगिताबाट प्रदेश स्तरिय टिम तयार गरिने छ। र त्यही टिमले राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने छ। प्रदेश स्तरिय खेलकुद तयारी अन्तर्गत प्रदेशका १३ ओटै जिल्लामा अध्यक्ष तोक्ने काम सकिएको छ। प्रतियोगिता सम्पन्न गर्न ८ करोड खर्च लाग्ने आयोजकले जनाएको छ।