समाजवादका मुख्य विशेषता के–के हुन् ?

communist-poster
समाजका ऐतिहासिक रूपहरू यस प्रकार छन्, १) आदिम साम्यवाद (२) दास व्यवस्था (३) सामन्ती व्यवस्था (४) पुँजीवादी व्यवस्था र (५) समाजवादी व्यवस्था। पहिलो र अन्तिमलाई छाडेर दोस्रो, तेस्रो र चौथो व्यवस्थाहरू वर्गविभक्त, अर्थात् एक वर्गद्वारा अर्को वर्गको शोषणमा आधारित व्यवस्था हुन् र ती निजी सम्पत्तिमा, उत्पादनका साधनहरूमाथि निजी मालिकत्वमा आधारित रहेका छन्।
लाेकपाटी न्यूज

मार्क्सवाद मार्क्स र एंगेल्सका विचारहरूको एउटा प्रणाली हो। त्यसका तीन अभिन्न अङ्गहरू छन्, दर्शन, अर्थशास्त्र र समाजवादी सिद्धान्त। त्यसको दर्शन द्वन्द्वात्मक भौतिकवाद हो। ऐतिहासिक भौतिकवाद भनेको इतिहासमा सो दर्शनको प्रयोग हो। मार्क्सवादी आर्थिक सिद्धान्तको आधारशिला अतिरिक्त मूल्यको सिद्धान्त हो। समाजवादसम्बन्धी त्यसको सिद्धान्त वैज्ञानिक समाजवाद हो। वास्तवमा यो मार्क्स र एंगेल्सको कम्युनिष्ट सिद्धान्त हो।

मार्क्स र एन्जेल्सको समाजवादी सिद्धान्तलाई वैज्ञानिक भन्नाको कारण के भने त्यो भावनामा या कल्पनामा आधारित नभएर ठोस दार्शनिक तथा आर्थिक जगमा आधारित रहेको छ। यसको दार्शनिक आधार इतिहाससम्बन्धी द्वन्द्वात्मक–भौतिकवादी धारणा (ऐतिहासिक भौतिकवाद) हो। उक्त धारणाअनुसार, समाज विकासशील र परिवर्तनशील छ र त्यो एक रूपबाट अर्को रूपमा विकसित हुन्छ, त्यसैले पुँजीवादको विनाश र समाजवादको स्थापना हुनु अवश्यम्भावी र अनिवार्य छ। यो वैज्ञानिक समाजवादी सिद्धान्तको प्रमाणीकरण हो।

त्यस्तै, यसको आर्थिक प्रमाणीकरण माक्र्सको आर्थिक सिद्धान्त (अतिरिक्त मूल्यको सिद्धान्त) हो, जसले समाजवादी क्रान्ति पुँजीवादको गर्भबाट अनिवार्य रूपले पैदा हुने चीज हो भन्ने कुरालाई देखाइदियो। यसरी, समाजवादसम्बन्धी मार्क्सवादी सिद्धान्त त्यसद्वारा प्रतिपादित दार्शनिक, ऐतिहासिक र आर्थिक सिद्धान्तहरूमा आधारित छ र यो तिनको स्वाभाविक परिणाम पनि हो।

मार्क्सको वैज्ञानिक समाजवादी सिद्धान्त विद्यमान समाजको समाजवादी रूपान्तरणको अनिवार्यता र त्यसलाई हासिल गर्ने तरिका र उपायहरूसम्बन्धी निर्देशक सिद्धान्त हो। अर्थात् यो मानिसद्वारा मानिसको शोषणमा आधारित समाजको लासमा शोषणरहित, वर्गविहीन समाजको निर्माण कुन ढङ्ग र उपायबाट गर्न सकिन्छ भन्ने सवालसित सम्बन्धित छ। मार्क्सको एउटा महत्वपूर्ण प्रस्थापना छ, “दार्शनिकहरूले संसारको व्याख्यामात्र गरेका छन्, मुख्य कुरा त संसारलाई फेर्नु हो।” यो सिद्धान्त संसारलाई फेर्ने, पुरानो संसारलाई ध्वस्त गरेर नयाँ संसार, अर्थात् कम्युनिष्ट संसारको निर्माण गर्ने व्यवहारिक–राजनीतिक तथा सङ्गठनिक सवालहरूसित सम्बन्धित छ। यो वस्तुगत स्थितिको विकासक्रमले प्रस्तुत गर्ने समाजवादी क्रान्तिको ऐतिहासिक आवश्यकतालाई ठोस यथार्थतामा परिणत गर्ने सवालसित सम्बन्धित सवाल हो।

अब समाजवाद भनेको के हो ? सामान्य रूपमा त्यसले के जनाउँछ ? विचारको रूपमा समाजवाद भनेको मानिसद्वारा मानिसको शोषणको विरूद्ध, श्रमिक जनताको शोषणको विरूद्ध दह्रो तथा सक्रिय विरोध हो। सामाजिक व्यवस्थाका रूपमा समाजवाद भनेको त्यस्तो व्यवस्था हो जहाँ उत्पादनका साधनहरूमाथि निजी (व्यक्तिगत) मालिकत्व रहँदैन, बरू सामूहिक, साझा मालिकत्व रहन्छ र जहाँ कोही शोषक र कोही शोषित रहँदैनन्, अर्थात् वर्गहरूको अस्तित्व रहेको हुँदैन।

हाम्रो मानव समाजको प्रारम्भिक रूप उपरोक्त खालको थियो, जसलाई आदिम साम्यवादी (कम्युनिष्ट) समाज भनियो। त्यस युगमा मानिससित साधारण औजारहरू मात्र थिए, जस्तो कि ढुङ्गे बञ्चरो, चक्कु, आदि। मानिसले प्रकृतिद्वारा दिइएका चीजबाट जीविका चलाउँथ्यो (जस्तो कि कन्दमूल, माछा, जनावर शिकार) र पछिल्लो अवधिमा पशुपालन र खेतीबाट जीविका चलायो। त्यसबेला उत्पादक शक्तिहरूको विकास ज्यादै तल्लो स्तरमा थियो, मानिसले एक्लाएक्लै प्राकृतिक शक्तिहरूसित लड्न र जीविकाका साधन प्राप्त गर्न सक्दैनथ्यो। जीविकाका साधन प्राप्त गर्न तिनीहरूले मिलेर, सामूहिक रूपले काम गर्नुपथ्र्यो।

उत्पादनका साधनहरूमाथि साझा, मालिकत्व थियो र सामूहिक श्रमद्वारा उत्पादित जीविकाका साधनहरूको वितरण सबैमा बराबरी रूपमा हुन्थ्यो। त्यहाँ निजी सम्पत्ति, थिएन, वर्गहरू थिएनन्, त्यसैले कसैबाट कसैको शोषण भन्ने कुरा थिएन, राज्य भन्ने थिएन र साझा मामिलाहरूको बन्दोबस्त सामूहिक रूपमा (कम्युन, गणतन्त्र आदिद्वारा) गरिन्थ्यो। सामूहिक स्वार्थ र व्यक्तिगत स्वार्थमा भेद थिएन, सामूहिक स्वार्थ नै व्यक्तिगत स्वार्थ हुन्थ्यो। प्रजातिहरूमाझ हुने युद्धमा हारेका पक्षका बन्दीहरू सबै जना मारिन्थे किनभने तिनलाई बचाएर राख्दा फाइदा थिएन। त्यसलाई ‘स्वर्ण युग’, ‘सत्य युग’ त्यसैले भनिएको होला।

आदिम साम्यवादी व्यवस्थाभित्र उत्पादक शक्तिहरूको विकास हुँदै गयो र त्यही क्रममा निजी सम्पत्तिको उत्पत्ति भयो र समाज वर्गहरूमा विभाजित भयो। अहिलेसम्म देखा परेका समाजका ऐतिहासिक रूपहरू यस प्रकार छन्, १) आदिम साम्यवाद (२) दास व्यवस्था (३) सामन्ती व्यवस्था (४) पुँजीवादी व्यवस्था र (५) समाजवादी व्यवस्था। पहिलो र अन्तिमलाई छाडेर दोस्रो, तेस्रो र चौथो व्यवस्थाहरू वर्गविभक्त, अर्थात् एक वर्गद्वारा अर्को वर्गको शोषणमा आधारित व्यवस्था हुन् र ती निजी सम्पत्तिमा, उत्पादनका साधनहरूमाथि निजी मालिकत्वमा आधारित रहेका छन्। वर्गीय शोषणको दृष्टिले ती उस्तै छन्। तर शोषणको तरिका र रूपको दृष्टिले फरक छन्।

वर्गविभक्त सामाजिक व्यवस्थाहरू रहेको स्थितिमा पनि कम्युनिज्मसम्बन्धी विचार विभिन्न रूपमा क्रियाशील रह्यो। दास व्यवस्थाको अवधिमा आदिम साम्यवादको स्थितितर्फ फर्कने विचार र त्यसका लागि सङ्घर्षका रूपमा त्यो रह्यो। (दृष्टान्तका रूपमा, बुद्धको विहार जीवनावस्था, प्लेटोको ‘गणतन्त्र’, रोमको ईस्वीपूर्व ७३–७१ को महान् दास विद्रोह)। प्लेटोको ‘गणतन्त्र’ पुस्तकमै सीमित रह्यो, रोमको दास विद्रोह असफल रह्यो। मुख्य कारण के भने त्यसताका इतिहास अघि बढिसकेको थियो र नयाँ विकसित आधारमा कम्युनिष्ट समाज स्थापना गर्नका लागि आवश्यक अवस्थाहरूको विकास भइसकेको थिएन।

१६ औं शताब्दीदेखि १९ औं शताब्दीको पूर्वाद्र्धसम्म पुँजीवादको विरूद्ध समाजवादी विचारहरूको प्रचार व्यापक रूपमा भयो र त्यसले समाजको पुनर्निर्माण गर्ने काल्पनिक परियोजनाहरूको रूप लियो। त्यस अवधिमा खास रूपले बेलायत र फ्रान्समा अनेकौं काल्पनिक समाजवादीहरू देखा परे र तिनमा सेन्ट साइमन, चार्स फ्युरेर र रबर्ट ओवेन प्रमुख थिए। त्यस अवधिको समाजवाद काल्पनिक समाजवाद थियो। ‘युटोपियन’ भन्ने शब्द ‘युटोपिया’बाट आएको हो, जसको साधारण अर्थ हो काल्पनिक स्थान अर्थात् त्यस्तो ठाउँ जसको यथार्थतामा कुनै अस्तित्व छैन। तत्कालीन कल्पनावादीहरू समाजको पुनर्निमाणका लागि यस्ता योजनाहरू बनाउने गर्थे, जुन यथार्थतामा परिणत हुन असम्भव थियो, पूरै अयथार्थवादी र अव्यवहारिक थियो।

काल्पनिक स्वरूपको समाजवाद भए पनि, समाजवादी चिन्तनको विकासको इतिहासमा त्यसका महत्वपूर्ण योगदानहरू रहेका थिए। पछिल्लो कालमा वैज्ञानिक समाजवादी सिद्धान्तको प्रतिपादन गर्ने काममा त्यसको महत्र्वपूर्ण भूमिका रहेको थियो। त्यसका सकारात्मक र नकारात्मक पक्षहरू थिए, जसका बारेमा सङ्क्षिप्तमा विचार गरौँ।

काल्पनिक समाजवादीहरूको एउटा महत्र्वपूर्ण योगदान कुन कुरामा रहेको थियो भने तिनीहरूले पुँजीवादअन्तर्गत हुने गरेको श्रमिक जनताको शोषण–उत्पीडन र त्यसबाट पैदा भएका खराबीहरूको बडो सशक्त र गहन रूपमा पर्दाफास गरे। निजी सम्पत्ति नै सारा शोषण, उत्पीडन र सामाजिक खराबीहरूको जड रहेको तथ्यलाई तिनीहरूले राम्ररी खुलस्त पारिदिए। नयाँ नैतिक संसार नामक आफ्नो कृतिमा रवर्ट ओवेनले निम्न महत्र्वपूर्ण विचार व्यक्त गरेका थिए,

“निजी सम्पत्ति मानिसका निम्ति अनन्त अपराध र दुःखको कारण रहेको छ र आजसम्म पनि छ। निजी सम्पत्तिले मनलाई मनबाट अलग पार्छ, त्यो सम्पूर्ण समाजमा घिनलाग्दो काम–कार्यवाहीको एक स्थायी कारण हो, मानिस मानिसका बीचमा धोखेबाजी र जालसाजीको अविरल स्रोत हो र महिलाहरूको बीचमा वेश्यावृत्तिका निम्ति एक बलियो प्ररेणा हो।”

यसरी, ती समाजवादीहरूले पुँजीवादी परिपाटीको दृढ विरोध र भण्डाफोर गरेर समाजवादी विचारलाई अघि बढाउने काम गरे। अनि पुँजीवादी समाजको ठाउँमा स्थापित गरिनुपर्ने समाजवादी समाजको परिकल्पना प्रस्तुत गरेर (फ्युरेर र ओवेनको योजना) त्यस्तो समाज स्थापना गर्न सकिन्छ र गर्न सम्भव छ भन्ने कुरा देखिए। तिनीहरूले भविष्यमा त्यस्तो समाज अवश्य स्थापना हुनेछ भन्ने कुरामा दृढ विश्वास र आस्था व्यक्त गर्दै सो समाजमा मानवजातिको प्रचुर मात्रामा उन्नति हुनेछ भन्ने धारणा प्रस्तुत गरे। भावी समाजको सम्बन्धमा उनीहरूका निष्कर्षहरू निम्न प्रकारका थिए,

उत्पादनका साधनहरूमाथि सामाजिक मालिकत्व हुनेछ र कामदारहरूको सामूहिक श्रमद्वारा विकास हुनेछ। ज्यालादारी श्रमको उन्मूलन हुनेछ र श्रम एक प्राकृतिक आवश्यकता र मनोरञ्जन रहनेछ। गाउँ र सहरबीचको भेदको उन्मूलन हुनेछ। राज्य औद्योगिक व्यवस्थापन निकायमा रूपान्तरित हुनेछ।

उपरोक्त निष्कर्षहरू समाजवादी चिन्तनको क्षेत्रमा सकारात्मक तत्व हुन्। तर, काल्पनिक समाजवादीहरूको सामाजिक रूपान्तरणका परियोजनाहरूमा गम्भीर त्रुटि र कमजोरी रहेका थिए। ती त्रुटि र कमजोरी कुन तथ्यमा रहेको थियो भने तिनीहरूले सो रूपान्तरणलाई कुन उपायबाट सिद्ध गर्न सकिन्छ, त्यसका लागि कुन बाटो अपनाउनुपर्छ र कुन वर्ग–शक्तिहरूमाथि भरोसा राख्नुपर्छ भन्ने कुरालाई बुझ्न सकेनन् वा बुझेनन्। तिनीहरूका खास कमजोरीहरू निम्न थिए,

शोषित पीडितहरू र सर्वहारावर्गप्रति सहानुभूति राख्ने, तर तिनको गरिबीभित्रको क्रान्तिकारी पक्षलाई नदेख्ने, सर्वहारावर्गको शक्तिप्रति अनभिज्ञता। राजनीतिप्रति उदासीनता, वर्गसङ्घर्ष, राजनीतिक सङ्घर्ष, पुँजीवादी शासनलाई फाल्ने, सत्ता–कब्जा आदिप्रति अस्वीकृति। जनतालाई शिक्षित बनाउने, वर्ग–समन्वय कायम गर्ने, शासक र धनीहरूको मन फेर्ने र तिनलाई शोषितहरूको पक्षमा लगाउने उपायद्वारा रूपान्तरण सिद्ध गर्ने विचार। वस्तुगत ऐतिहासिक विकास क्रममा भरोसा राख्नुको सट्टामा मानिसहरूको भावना, नैतिकता, शुभेच्छा आदिमा भरोसा राख्नु। यसरी तिनीहरूको समाजवाद ‘भावनाहरूको समाजवाद’ थियो।

उपरोक्त कारणहरूले गर्दा त्यसलाई काल्पनिक समाजवाद भन्ने संज्ञा दिइएको हो र त्यसमा नै त्यसको काल्पनिक चरित्र रहेको थियो। त्यसताका त्यस्तो स्थिति हुनु कुनै आकस्मिक कुरा थिएन, त्यसको ऐतिहासिक कारण थियो। त्यसको मुख्य कारण थियो, पुँजीवादी उत्पादन सम्बन्धहरूको विकास पर्याप्त मात्रामा भई नसक्नु, जसले गर्दा समाजको क्रान्तिकारी रूपान्तरणका लागि अवस्थाहरू परिपक्व भई नसक्नु। अर्को कारण थियो, सर्वहारावर्गले स्वाधीन शक्तिका रूपमा आफूलाई उठाई नसकेको स्थिति।

उपरोक्त स्थितिमा तत्कालीन समाजवादीहरूका विचारहरू स्वाभाविक रूपले कल्पनावादी हुन गए। पछि समयको क्रममा पुँजीवादको विकाससँगै पुँजीपतिवर्ग र सर्वहारावर्गबीचको अन्तर्विरोध तीव्र हुँदै गयो र अनि वर्गसङ्घर्षको अस्वीकृति, वर्ग–मेल, माथिल्ला सामाजिक तहमा अपिल, सुधारप्रति विश्वास आदि तिनीहरूका धारणाहरूको गलत रूपमा स्पष्ट हुन गयो र त्यसको व्यावहारिक मूल्य र न्यायोचितता हराएर गयो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्