चितवन राष्ट्रिय म्याराथनको उपाधि सशस्त्रका पार्कीलाई

gopal chandra parki
लाेकपाटी न्यूज

चितवन, ११ माघ । रोटरी क्लब अफ रत्ननगरले गरेको राष्ट्रिय मिनी म्याराथनको उपाधि सशस्त्रका गोपाल चन्द्र पार्कीले हात पारेका छन्। शनिबार भएको प्रतियोगितामा पार्कीले निर्धारित दूरी १५ दशमलब ४ किलोमिटर दूरी ४२ मिनेट ३५ सेकेण्डमा पार गरेका थिए। यस्तै दोस्रो स्थानमा भरतीय सेनामा कार्यरत अनिस थापामगर र तेस्रो स्थानमा त्रिभूवन आर्मी क्लबका दिपक अधिकारी बन्न सफल भए।

उनीहरुले क्रमशः ४२ मिनेट ४१ सेकेण्ड, ४४ मिनेट ११ सेकेन्डमा निर्धारित दूरी पार गरे। नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय स्तरको रोटरी मिनी म्याराथोन प्रतियोगिता गरिएको हो। क्लबका अध्यक्ष बिपिन पोख्रेलका अनुसार राप्ती नगरपालिकाको भण्डाराबाट सुरु भएको म्याराथोन रत्ननगरको होटल स्टार वैङ्क्युटमा आएर सकिएको थियो ।

प्रतियोगितामा विभागीय धावक नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, चेपाङ् धावकहरु, र विदेशीसहित ३ सय ५२ जनाको सहभागीता रहेको थियो। प्रतियोगितामा तीन जना विदेशी, ७९ जना चेपाङ् धावकको सहभागीता रहेको पोखरलले जानकारी दिए। प्रतियोगितामा प्रथम हुनेले ५० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १५ हजार नगदसहित चाँदीको मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्।

यस्तै प्रतियोगितामा १० नम्बर सम्म आउने धावकहरुलाई एक हजार नगदले सम्मान गरिएको छ। त्यसैगरी प्रतियोगिता पूरा गर्ने ४४ जना महिला धावकलाई नगद पाँच हजारले सम्मान गरिएको छ। प्रतियोगिताको रोटरी ३२९२ का गभर्नर किरणलाल श्रेष्ठ, जिल्ला समन्य समितिका प्रमूख कृष्णकुमार डल्लाकोटी, मिस नेपाल अर्थ रिया बस्नेतलगायतले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका थिए।

रोटरी क्लब अफ रत्ननगरले यस अघि रोटरी पुस्तकालय, शहीद स्मृति पुस्तकालय, लटौली खाजा तथा लघुबित्त कार्यक्रमको सञ्चालन, रोटरी सार्वजनिक शौचालय निर्माण, बृहत रक्तदान कार्यक्रम जस्ता सामाजिक काम गर्दै आएको छ। भ्रमण वर्षलाई लक्षित गर्दै क्लबले सौराहामा रोटरी घण्टा घरको निर्माणको कामसमेत सुरु गरेको क्लबका निवर्तमान अध्यक्ष जनक पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्