आज प्रतिनिधि सभामा सभामुख चयन

parliament
लाेकपाटी न्यूज

काठमाडौँ । प्रतिनिधि सभामा सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । लामो समयदेखिसभामुख विहिन भएको प्रतिनिधि सभामा आज सभामुख चयनको प्रक्रिया अगाडि बढाउन लागिएको हो ।

सङ्घीय संसद् भवनमा दिउसो तीन बजे प्रतिनिधि सभा बैठक डाकिएको छ । सभामुखमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाको एकल मनोनयन परेको छ ।

सापकोटाको मात्र एकल मनोनयन परेकाले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार उनी निर्विरोध हुनेछन् । बैठकमा सापकोटाका तर्फबाट प्रस्तावक सुवासचन्द्र नेम्वाङले उम्मेदवारको प्रस्ताव पेस गर्नेछन् ।

वक्तव्यसहित पेस हुने प्रस्तावमा समर्थकले धारणा राख्नेछन । सापकोटाको समर्थकमा पूर्वसभामुख ओनसरी घर्ती, नेकपाका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ छन् ।राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद लक्ष्मणलाल कर्णले पनि सापकोटाको उम्मेदवारीमा समर्थन गर्र्नेछन्।

प्रतिनिधि सभा नियमावलीको नियम ७ को व्यवस्था अनुसार एक मनोनयन परेकाले प्रस्तावक र समर्थकले धारणा राखेपछि सभाध्यक्षबाट सापकोटालाई निर्विरोध सभामुख चयन भएको घोषण हुनेछ।

नियमावली अनुसार एकल मनोनयन परेमा निर्विरोध हुने व्यवस्था छ। प्रमुख विपक्षी दल नेपाली काँग्रेस र अर्को विपक्षी दल समाजवादी पार्टीले उम्मेदवारी दिएका छैनन ।